आगामी वर्षमा पुरातात्विक सम्पदा पुनः निर्माण गरीसक्ने पर्यटनमन्त्री अधिकारीकाे दावी

आगामी वर्षमा पुरातात्विक सम्पदा पुनः निर्माण गरीसक्ने पर्यटनमन्त्री अधिकारीकाे दावी


काठमााडौँ- पर्यटन तथा नागरिक उड्डयनमन्त्री रवीन्द्र अधिकारीले हनुमानढोकास्थित ‘भग्नावशेषबाट पुनरुत्थान’ प्रदर्शनी कक्ष शुभारम्भ गरेका छन् ।  हनुमानढोका दरबार संग्रहालय विकास समितिले बनाएको उक्त कक्ष शुभारम्भ गर्दै उनले आगामी वर्षमा भूकम्पबाट क्षति भएको पुरातात्विक सम्पदाको पुनः निर्माण गरिसक्ने बताएका हुन् ।

भूकम्पपछि सम्पदाको पुनः निर्माणले गति लिन नसकाे भन्दै उनले अबदेखि कार्ययोजना बनाई अघिबढ्नेमा जोड दिए । मन्त्री अधिकारीले दुई वर्ष बित्न लाग्दा पनि धरहरा र काष्ठमण्डप बन्न नसक्नु दुःखद भएको बताए । पुनः निर्माणमा बिगतको सरकारले काम गर्न सकेको थिएन तर अब स्थायी सरकार भएकाले पुनः निर्माणलाई तीव्रता दिइने र यस्ता काममा प्रतिपक्षलाई पनि सँगै लिएर जाने उनले दावी गरे ।

कार्यक्रममा काठमाडौँमा महानगरपालिकाका प्रमुख विद्यासुन्दर शाक्यले पुनः निर्माणको कामले सोचजस्तो प्रगति हासिल गर्न नसकेको बताए ।  शताब्दी पुरुष सत्यमोहन जोशी पुर्खाले बनाएको सम्पदा संरक्षण गर्नुपर्ने भएकाले भूकम्पबाट क्षति भएका सम्पदा पनि चाँडो बनाउनुपर्नेमा जोड दिए । करीब २८ लाखको लागतमा निर्मित कक्षमा भूकम्प र भूकम्पपछिको उद्धारसम्बन्धी फोटा, भूकम्पपछि काठमाडौँमा उत्खनन गरिएका पुरातात्विक फोटा राखिएका छन् ।