जनचेतना फैलाउन सके पाँच वर्षमा आधा मिर्गौला रोगी घटाउन सकिन्छः डा. राणा (अन्तर्वार्ता)

जनचेतना फैलाउन सके पाँच वर्षमा आधा मिर्गौला रोगी घटाउन सकिन्छः डा. राणा (अन्तर्वार्ता)

‘मिर्गौला रोग लागेपछि उपचार खर्च दिनुभन्दा रोग लाग्नै नदिने काम गरौं’


यशोदा भुजेल

काठमाण्डु – मिर्गौला हाम्रो शरीरको सबैभन्दा महत्वपूर्ण एक अंग हो । पछिल्लो समय नेपालमा मिर्गौलाका बिरामीहरु बढ्दै गइरहेका छन् । राज्यले पनि मिर्गौला पीडितका लागि ठूलो धनराशी खर्च गर्दै आइरहेको छ तर, मिर्गौला सम्बन्धी समस्या भएका र मिर्गौला फेल हुने बिरामीको संख्यामा कमी आएको छैन ।

यसको समयमै पहिचान र उपचार हुन सकेन भने मानिसको अकालमै ज्यान जान सक्ने चिकित्सकहरुले बताउँदै आएका छन् । हाल वीर अस्पताल, मानव अङ्ग प्रत्यारोपण केन्द्र, भक्तपुर र निजी अस्पताल अन्तर्गत ग्रान्डी इन्टरनेसनल अस्पतालमा प्रत्यारोपण हुँदै आएको छ । मिर्गौलाको सबैभन्दा महत्वपूर्ण काम भनेकाे हाम्रो शरिरमा रगतमा भएको फोहोर मैलाहरुलाई पिसावको माध्यमबाट बाहिर फाल्नु हो । मिर्गौलाले २४ घण्टामा करिब २ सय लिटर रगत छान्ने काम गर्दछ ।

मिर्गौला विग्रेर गएपछि शरीरलाई चाहिने तत्वहरु भएन भने पछि गएर हड्डीहरु भाँचिने, खिईंदै जाने मिर्गौला रोग विशेषज्ञ डा. अर्चन शसमेर राणा बताउँछन् ।

हाम्रो मिर्गौलाले १० प्रतिशत मात्र काम गरिरहँदा पनि मिर्गौला रोग लागेको थाहा नलाग्ने डा. राणा बताउँछन् । मार्कइन्टरनेशनल किड्नी सेन्टरका डाइरेक्टरसमेत रहेका डा. रानाले मानिसमा अनुशासन भयो भने मिर्गौला रोगबाट बच्न सकिने बताए ।

उनले एक्सरसाइज गर्ने, नचाहिने खानेकुराहरु नखाने, जस्तै स्मोकिङ, अल्कोहलहरु नखाने गर्यो भने हाम्रो मिर्गौलालाई राम्रो गर्ने बताए । मिर्गौला रोगबाट कसरी बच्न सकिन्छ ? मिर्गौलालाई सुरक्षित राख्ने उपायहरु के–के छन् ? भनेर काठमाण्डुपाटीका लागि गरिएको कुराकानीः

मिर्गौला रोग कसरी लाग्छ ?

मिर्गौला मानव शरिरको सबैभन्दा महत्वपूर्ण अंग हो । सामान्यतया मानिसमा दुई वटा मिर्गौला हुन्छ, जुन पेटको पछाडीको भागमा हुन्छ । मिर्गौलाले पिसाब मार्फत अनावश्यक तथा दूषित पदार्थ शरीरबाट बाहिर निष्कासन गर्दछ । तर कुनैपनि कारणले गर्दा यसरी छान्ने क्षमतामा ह्रास आएमा मिर्गौला रोग लागेको भन्ने बुझ्न सकिन्छ । यो सबै उमेर समूहकालाई हुने रोग हो । हामीले हाम्रो मिर्गौला दुई वटा छ कि छैन भनेर पत्ता लगाउन भिडियो एक्सरे गरेर थाहा पाउन सकिन्छ । साथसाथै मिर्गौलाको आकार, साइज कत्रो छ, आफ्नो ठाउँमा छ कि छैन भनेर थाहा पाउन सकिन्छ । मिर्गौला भएन भने मानिसमा बाँच्ने आधार कम हुन्छ ।

मिर्गौलाको मुख्य काम के-के हुन् ?

मिर्गौलाले धेरै काम गर्छ । नेपालमा पछिल्लो समय मिर्गौला सम्बन्धी समस्या भएका बिरामीको संख्या बढिरहेको छ । राज्यले पछिल्लो समय मिर्गौलाको उपचारमा राम्रो सहयोगको व्यवस्था गरेको छ । यद्यपि मिर्गौला सम्बन्धी समस्या भएका र मिर्गौला फेल हुने बिरामीको संख्यामा उल्लेख्य रुपमा कमी आएको छैन । यसको समयमै पहिचान र उपचार हुन सकेन भने मानिसको अकालमै ज्यान जान सक्छ । हाल वीर अस्पताल, मानव अङ्ग प्रत्यारोपण केन्द्र, भक्तपुर र निजी अस्पताल अन्तर्गत ग्रान्डी इन्टरनेसनल अस्पतालमा मिर्गौला प्रत्यारोपण सेवा उपलब्ध छ । यसको सबैभन्दा महत्वपूर्ण कामचाँही हाम्रो शरिरमा रगतमा भएको फोहोर मैलाहरुलाई पिसावको माध्यमबाट बाहिर फाल्नु हो । मिर्गौलाले २४ घण्टामा करिब २ सय लिटर रगत छान्ने काम गर्दछ ।

मिर्गौलाले शरीरमा तरल पदार्थ र लवणको मात्राको सन्तुलन कायम गराउँछ । मिर्गौलामा हुने एक विशेष प्रकारको हर्मोनले शरीरमा रातो रक्तकण बनाउन मद्दत गर्छ र हड्डी मजबुत राख्ने काम पनि गर्छ । मिर्गौला विग्रेर गएपछि शरीरलाई चाहिने तत्वहरु भएन भने पछि गएर हड्डीहरु भाँचिने, खिईंदै जाने हुन्छ । तर रक्तचाप बढ्दा मिर्गौलाका रक्तनलीमा दबाव पर्न गई यी काम राम्ररी हुन पाउँदैनन् ।

मिर्गौलाको अर्को महत्वपूर्ण काम भनेको हाम्रो शरीरमा नुनको मात्रालाई रेगुलेट गर्नु हो । जसलाई हामी एसिड ब्यालेन्स (इलेक्ट्रोलाइट) भन्छौं । जस्तै हामी घाममा गयौं भने हामीलाई पसिना धेरै आईरहेको हुन्छ । त्यस्तो अवस्थामा हाम्रो शरीरमा जुन सोडियमको मात्रा कम भएको हुन्छ, त्यस्तो अवस्थामा मिर्गौलाले सहयोग गर्छ । मिर्गौलाले हाम्रो शरीरमा भएको फोहोर मात्र फाल्ने काम नगरेर यसले रगत बनाउने, हड्डी मजबुद बनाउने कामहरुको साथसाथै शरीरमा एसिडहरुको मात्रा मिलाउने पनि काम गर्छ ।

मिर्गौला रोग लागेको कसरी थाहा पाउने ? मिर्गौला रोग कति प्रकारका हुन्छन् ?

मिर्गौला रोग धेरै किसिमको हुन्छ । जस्तै मिर्गौला विफल हुनलाई पनि मिर्गौला रोग भन्छौं । रगतमा युरिन र क्रियाटिन मात्रा हेरेर, रगतमा हेमोग्लोबिन, क्याल्सियम र फस्फोरसको परीक्षण गरेर, मिर्गौलाको हर्मोन उत्पादन सम्बन्धी जाँच गरेर हामीले मिर्गौलामा रोग लागेको थाहा पाउन सक्छौ । मिर्गौला रोगलाई दुई भागमा विभाजन गरिएको छ ।

१. मिर्गौलाघात:
२. दीर्घकालीन मिर्गौला रोग:

१ मिर्गौलाघात – मिर्गौलाको कार्य क्षमतामा अकास्मत वा तिव्र रुपले ह्रास आउँनुलाई मिर्गौलाघात भएको भनिन्छ । जसमा पिसाबको निष्काशन कम हुन्छ । मिर्गौलाघात सामान्यतया उपचार गर्न सकिन्छ । मिर्गौलाघात विभिन्न कारणले हुनेगर्छ । जस्तैः पिसावमा अत्याधिक रक्तश्राव भएमा, कुनै पनि औषधि धेरै प्रयोग गरेमा, मुत्रनलीमा संक्रमण भएमा मिर्गौलाघात हुन सक्छ ।

२. दीर्घकालीन मिर्गौला रोग – यो रोग भनेको मिर्गौलाको कार्यक्षमतामा ह्रास हुनु हो । मिर्गौलाको कार्यक्षमता १० प्रतिशत भन्दा कम हुँदा दीर्घकालीन मिर्गौला रोगले मिर्गौला फेल वा मिर्गौलाको अन्तिम अवस्था सिर्जना गर्नसक्छ । मिर्गौला फेल भएपछि डायलाइसिस वा प्रत्यारोपण नै गर्नुपर्ने हुन्छ ।

दीर्घकालिन मिर्गौला रोग हुने मुख्य तीन कारणहरु रहेका छन्:

१. मधुमेह
मधुमेह नियन्त्रणमा आउन नसके यसले साना रक्तनलीलाई खराब गर्छ । यसले विस्तारै आँखा, मुटु, मस्तिष्क लगायतका अङ्गमा असर पु¥याएजस्तै मिर्गौलालाई पनि खराब गर्छ ।

२. उच्च रक्तचाप

मिर्गौला फेल हुनुको मुख्य कारण मध्ये उच्च रक्तचाप पनि एक हो । रक्तचाप नियन्त्रण भएन भने पनि यसले मिर्गौलामा गम्भीर असर गर्छ र दुवै मिर्गौला फेल हुन सक्छन् ।

३. ग्लोमेरुलो नेफ्राईटिस
यो एक प्रकारको पिसाबबाट प्रोटिन चुहिने रोग हो । यसको समयमै उपचार गरिएन भने बिस्तारै यसले मिर्गौलालाई खराब गर्दै जान्छ ।

मिर्गौला रोगका लक्षणहरु:
यो रोगमा ९० प्रतिशत मिर्गौला बिग्रिसकेपछि लक्षणहरू देखा पर्छन् । लक्षण देखिनुभन्दा अगाडीनै हामीले यो रोगको निदान खोज्न सक्यौ भने राम्रो हुन्छ । हामीले लक्षणलाई पर्खेर बस्नुभन्दा पहिले समय समयमा जनरल चेकअप गर्नु राम्रो हुन्छ ।

-हात गोडा सुन्निनु
-आँखा वरीपरी सुन्निनु
-खानामा अरुची हुनु
-वाकवाकी लाग्ने
-थकाइ र कमजोरी महशुस हुनु
-छाला चिलाउनु वा कालो हुनु
-पिसाव पोल्नु, राती बढी पिसाब लाग्नु
-महिनावारी गडबडी
-निदाउन गाह्रो हुनु
-मांसपेशी बाउँडिनु
-रक्तअल्पता

मिर्गौला रोगका प्रविधि र उपचार

जब मिर्गौलाले काम गर्न छोड्छ वा मिर्गौलामा समस्या देखा पर्छ, यसले गर्ने सम्पूर्ण काममा असर पुग्छ । मृर्गौलाले काम गर्न छोड्नु भनेकै मिर्गौला फेल हुनु हो । दुवै मिर्गौला फेल भएको अवस्थामा अथवा हाम्रो मिर्गौलाले ९० प्रतिशत काम गर्न छोडेको अवस्थामा दुई तरिकाले उपचार गर्नुपर्ने हुन्छ ।

१.डाईलाईसिस:
एउटा कृत्रिम तरिकाबाट रगतको शुद्धीकरण गर्नु, जसलाई डायलाइसिस भनिन्छ । डाईलासिस हप्तामा तीन पटक (१२ घण्टा) गनुपर्ने हुन्छ । जुन डाईलासिस गरेपछि केही छोटो समयको लागि मात्र विरामीलाई राम्रो हुन्छ । नेपालमा सरकारले निःशुल्क डाईलाईसिस सेवा दिँदै आइरहेको छ ।

२. प्रत्यारोपण:
त्यस्तै, दोस्रो तरिका मृर्गौला प्रत्यारोपण हो । मृर्गौला प्रत्यारोपण भन्नाले अर्को व्यक्तिको एउटा मिर्गौला झिकेर बिरामीमा जोड्नु हो । यो रोगको उपचारमध्ये सबैभन्दा राम्रो प्रविधि भनेको मिर्गौला प्रत्यारोपण नै हो । प्रत्यारोपणमा जोड्नुपर्ने मिर्गौला तल्लो पेटको दाहिने वा देब्रे भागमा राखिन्छ ।

मिर्गौला फेल हुन थालेपछि तुरुन्तै लक्षण देखिँदैन । ९० प्रतिशत मिर्गौलाले काम गर्न छोडेपछि मात्र यसको लक्षण देखिन थाल्छ । अन्तिम अवस्थामा लक्षण पत्ता लाग्नु नै यो रोगको मुख्य चुनौती हो । प्रत्यारोपण गर्नु मात्र गाह्रो कुरा होइन । त्यसपछि पनि मिर्गौलालाई र बिरामीलाई बचाई राख्नु चुनौतीपुर्ण हुन्छ ।

पछिल्लो समय युवापुस्तामा शरीरलाई आवश्यक पर्ने पाैष्टिक तत्व  (खानेकुरा कन्ट्रोल )  डाईटिङ  गरेर स्लिम बन्ने प्रचलन बढ्दै गइरहेको छ । यसले मिर्गौलामा कस्तो असर  गर्छ ?

डाईटिङको पनि किसिमहरु हुन्छन् । हाम्रो शरीरलाई चाहिने खानाहरु खाएर डाईटिङ गर्नु भयो भने राम्रो हो तर शरीरलाई चाहिने खाना नै नखाई डाईटिङ गर्नुभयो भने मिर्गौलालाई राम्रो हुँदैन । सबैभन्दा राम्रो चाहीँ शरीरलाई चाहिने खानेकुराहरु खाएर डाइटिङ गर्दा एकदमै हुन्छ । सबैभन्दा पहिले जंगफुडहरुलाई वेवास्ता गर्नुभयो भने राम्रो हुन्छ । हामीले कोक,फ्यान्टा खानुको सट्टा दिनमा ३,४ लिटर पानी खायौं भने पानीले वेट लस गर्नुमा एकदमै सहयोग गर्दछ । खानामा फ्रुट्स, भेजिटेबलहरुको मात्रा बढायो भने पनि स्लिम हुलाई हेल्प गर्दछ प्लस मिर्गौला सहित अन्य अंगहरुलाई पनि राम्रो गर्छ । ब्यालेन्स राईट गरेर डाइट गर्नु भएको छ भने मिर्गौलालाई अवश्य राम्रो गर्दछ ।

मिर्गौला रोगबाट कसरी बच्न सकिन्छ ? मिर्गौलालाई सुरक्षित राख्ने उपायहरु के–के हुन् ?

मिर्गौला एक महत्वपूर्ण अंग हो । रोग लागेर उपचार गर्नुभन्दा पहिले नै रोग लाग्नै नदिनु सबैभन्दा बुद्धिमानी कुरा हो । मिर्गौला लाई रोग लाग्नबाट जोगाउन ३,४ वटा कुराहरु गर्नुपर्छ ।

पहिलो कुरा अनुशासन हुनुपर्यो । किनभने अनुशासनमा हाम्रो डेलिलाईफका कुराहरु,जस्तै एक्सरसाइजहरु गर्ने, नचाहिने खानेकुराहरु नखाने, जस्तै स्मोकिङ, अल्कोहलहरु नखाने गर्यो भने हाम्रो मिर्गौलालाई राम्रो गर्छ । अर्को छ डाइटः खानेकुरामा हामीले पहिला पानीलाई लिन सक्छौं । हामीले दिनमा ३,४ लिटर पानी खार्यौ भने आफ्नो जुन शरीरमा भएको फोहोरमैलालाई पिसावबाट क्लियर गर्नुका साथै अन्य शरीरको सुख्खापनहरुलाई राम्रो गर्दछ । इभन हाम्रो शरीरमा पत्थरी बन्न दिँदैन । त्यस्तै पिसावमा इन्फेक्सन हुन दिँदैन ।

खानेकुरामा हामीले व्यालेनस डाइट मिलाउन सक्नुपर्छ । सकेसम्म हामीले फलफुलहरु, ग्रीन सलादहरु खान सक्यौं भने मिर्गौलालाई राम्रो हुन्छ । तेलहरु कम खाने गर्नुपर्छ । सकेसम्म चार खुट्टे जनावरहरुको हामीले मासु कम खाने । हामीले जथाभावी औषधी नखाने, अल्कोहल, इनर्जी ड्रिङ्सहरु नखाने । धुम्रपान नगर्ने, एक्सरसाईजहरु गर्ने गनुपर्छ ।

मानिसहरुमा ‘मिर्गौला प्रत्यारोपण गरेको केही समयसम्म काम गर्छ तर पछि काम गर्दैन’ भन्ने गलत धारणा छ नि ? 

हाम्रो समाजमा गलत धारणा के छ भने मान्छेहरु कुनैपनि तयारी नगरीकन हतारमा प्रत्यारोपण गर्छन । हामीले कुनै तयारी गरेको हुँदैनाैं, मिर्गौला प्रत्यारोपण गर्ने मान्छे मिल्यो, २,३ वटा कुराहरु मिल्यो प्रत्यारोपण गरिहाल्यो गर्ने गर्छौं । त्यसले गर्दा पनि अनन्तकालसम्म राम्रो हुँदैन ।

हामीले पहिलो कुरा प्रत्यारोपण गर्दा को मान्छेले मिर्गौला दिँदैछ, उसमा केके रोग लागेको छ कति उमेरको छ, त्यो पहिला हेर्नुपर्छ । त्यस्तै मिर्गौला लिने मान्छेले पनि पहिला आफ्नो शरीरमा रगतको मात्रा ठिक छ कि छैन भनेर हेर्नुपर्छ । मुटुको अवस्था राम्रो छ कि छैन भनेर हेर्नु पर्छ । डाईलाईसिस गरिरहेको मान्छले एकै पटक प्रत्यारोपण गर्नु मिल्दैन । यदि प्रत्यारोपण गर्दा हुनुपर्ने सबै तयारीहरु मिलेको छ भने वर्षौ–वर्षसम्म मिर्गौलाले राम्रो काम गर्छ ।

पछिल्लो समय नेपालमा मिर्गौला रोगका बिरामीहरु बढ्दै गईरहेका छन्, यसमा  तपाई के भन्न चाहानुहुन्छ ?

म के भन्न चाहान्छु भने हाम्रो नेपालमा डाईलाईसिस र प्रत्यारोपण गरेर करोडौं रुपैयाँ खर्च भइरहेको छ । यसमा खर्च हुने रकमको १० प्रतिशत मात्र पनि जनचेतना जगाउनेतिर लाग्यौ भने एटलिष्ट अबको पाँच वर्षपछि नेपालमा मिर्गौला रोगको आधा विरामी घट्छन् । रोग लागेपछि उपचार गर्नुभन्दा पनि पहिले नै रोग लाग्नै नदिनको लागि हामीले जनचेतना जगाउनु आवश्यक रहेको छ ।

हामीले हाम्रो मार्क इन्टरनेशनल किड्नी सेन्टरबाट बर्षमा १० हजारबढी मानिसहरुलाई सुविधा दिएका छौं । विभिन्न ठाउँहरुमा गएर जनरल क्याम्पहरु गर्ने गरेका छौं । यसमा चाहीँ रगतको जाँच, पिसावको जाँच, सुगर, भिडियो एक्सरे गर्ने गरेका छौं ।  एटलिस्ट सरकारले रोग लागिसकेपछि उपचार खर्च दिनुभन्दा पहिले रोग लाग्नै नदिनको लागि जनचेतनामूलक कार्यक्रमहरु गर्ने र प्रत्येक मानिसलाई वर्षको एक पटक स्वास्थ्य जाँच गर्न प्रोत्साहन गर्नु आवश्यक छ ।