जनताको असन्तुष्टि विद्रोहमा परिणत हुनसक्ने कांग्रेस नेता केसीको चेतावनी

जनताको असन्तुष्टि विद्रोहमा परिणत हुनसक्ने कांग्रेस नेता केसीको चेतावनी


काठमाण्डु – नेपाली कांग्रेसका नेता अर्जुननरसिंह केसीले वर्तमान सरकार र संसद् सफलतापूर्वक सञ्चालनमा आउन नसकेकोप्रति असन्तुष्टि व्यक्त गरेका छन् ।

पार्टी केन्द्रीय कार्यालय सानेपामा शुक्रबार सञ्चारकर्मीसँग कुरा गर्दै उनले अहिले सरकार र संसद् दुवै सफलतापूर्वक सञ्चालनमा आउन नसकेकाले छलफल गर्नुपर्ने बताए ।

महासमिति बैठकमा नेपाली जनतामा देखिएका असन्तुष्टिबारे छलफल हुन आवश्यक रहेको उनले बताए । ‘आम रूपबाट नेपाली जनतामा देखिएका असन्तुष्टिले बिस्तारै विद्रोहको स्वरूप धारण गर्ने जो अवस्था देखिएको छ, त्यसलाई अब आउने महासमिति बैठकमा सम्बोधन गर्ने गरी उठाउनुपर्छ । खासगरी भ्रष्टाचारविरोधी अभियान सशक्त रूपले अघि बढाउनुपर्छ । विधिविहीनताको अन्त्य गर्नुपर्छ ।’

भ्रष्टाचारविरोधी अभियान सशक्त रूपले अघि बढाउने र विधिविहीनताको अन्त्य गर्नुपर्ने कुरा पनि महासमिति बैठकमा उठाउनुपर्ने उनले बताए ।

उनले भने, ‘सरकारको उपस्थितिलाई कसरी प्रभावकारी बनाउने भनेर सोच्नुपर्छ । अहिले सरकार पनि सफल हुन सकेको छैन । संसद पनि सफलतापूर्वक सञ्चालनमा आउन सकेको छैन । पार्टी पनि गतिशील भएको छैन । यी समग्र चिजलाई विस्तृत समीक्षा र छलफल गर्नुपर्छ ।’