काठमाण्डु – सशस्त्र प्रहरी बल नेपालले झापा जिल्लाको मेचीनगर नगरपालिका–६ झिल्के घाम टोलको २ वटा घरमा छापा मारेर ५९ बोरा लत्ताकपडा र मोटर पाट्र्स बरामद गरेको छ ।
लत्ताकपडा र मोटर पाट्र्स सशस्त्र प्रहरी बल नेपाल नम्बर २ गण झापा प्रस्तावित सीमा सुरक्षा गुल्म काकडभिट्टा र राजस्व अनुसन्धान कार्यालय इटहरीको संयुक्त टोलीले बरामद गरेको छ ।
विशेष सूचनाको आधारमा खटिएको सुरक्षा फौजले चेकजाँच गर्दा मदन पोख्रेलको घरबाट ३९ बोरा तथा उत्तम ठकुरीको घरबाट २० बोरा लत्ताकपडा तथा मोटर पाट्र्स बरामद भएको छ ।
ती २ वटा घरमा ठूलो परिमाणमा अवैध सामान रहेको सूचना पाएपछि मंगलबार बिहानैबाट नम्बर २ गण झापाबाट डीएसपीको कमाण्डमा टोली खटाएर निगरानी गरी दिउँसो छापा मारिएको थियो ।
बरामद लत्ताकपडा र मोटर पाट्र्स आवश्यक कारवाहीका लागि राजस्व अनुसन्धान कार्यालय ईटहरी लैजाने प्रक्रियामा रहेको छ । कति मूल्यको सामान भन्ने यकिन भएको छैन तर करीब १ करोड मूल्य बराबरको हुन सक्ने अनुमान गरिएको प्रवक्ता सशस्त्र प्रहरी नायव महानिरीक्षक कुमार न्यौपानेले जानकारी दिए ।
प्रतिक्रिया