सशस्त्र प्रहरी बलद्वारा विपद्मा खोज तथा उद्धारदेखि राजस्व संकलनमा सक्रियता

सशस्त्र प्रहरी बलद्वारा विपद्मा खोज तथा उद्धारदेखि राजस्व संकलनमा सक्रियता


सुनसरी – जिल्लास्थित सशस्त्र प्रहरी बल नेपाल नम्बर ४ हेडक्वाटरले विपद्मा खोज तथा उद्धार, चोरी तस्करी तथा लागूऔषध नियन्त्रण र विपद् जोखिम न्यूनीकरणलाई उच्च प्राथमिकतामा राखेर कार्यसम्पादन गर्दै आएको छ ।

गत आर्थिक वर्षमा सशस्त्र प्रहरी बल नेपाल नम्बर ४ हेडक्वाटरले विपद् खोज तथा उद्धारका क्रममा कोशी प्रदेशका विभिन्न नदी र खोलामा डुबेका १० जना शव निकालिएको जनाएको छ ।

विपद्मा फसेकाको खोज तथा उद्धारका लागि कोशी नदीमा नमूना अभ्यास गर्ने क्रममा डुबेका १३ जना र गत चैत २७ गतेदेखि बराह क्षेत्र चतराधाममा सञ्चालन भएको पूर्ण महाकुम्भ मेलामा फसेका १० जनाको जीवित उद्धार गरिएको कार्यालय प्रमुख सशस्त्र प्रहरी उपरीक्षक समेनन्द बज्राचार्यले जानकारी दिए ।

सोही अवधिमा कार्यालयले विभिन्न चोरी तथा अवैध सामान बरामदका शीर्षकमा प्रतिवादीलाई कारबाही गरी १७ करोड ९९ लाख १३ हजार ४०४ राजस्व संकलन गरेको उपरीक्षक बज्राचार्यले बताए ।

जिल्लास्थित सशस्त्र प्रहरी बल नेपाल बोर्डर आउट पोष्ट वसन्तपुरबाट खटिएको टोलीले जाँच गर्ने क्रममा घुस्की नाकाबाट हरिनगरतर्फ जाँदै गरेको बा१६प ७६१३ नम्बरको कारबाट १ करोड १ लाख,विशेष सुराकीका आधारमा हरिपुरबाट मकै भनी ४५ लाख ५० हजार बराबरको चिनी लगायत विभिन्न समयमा अवैध सामग्री बरामद गरिएको बज्राचार्यले जानकारी दिए ।

गत आवमा ११५ वटा सडक दुर्घटना हुँदा २७ जनाको मृत्यु र २११ जना घाइते भएका छन् । हेडक्वाटरले १४१ आगलागीका घटनालाई नियन्त्रण गरिएको जनाएको छ ।

१ हजार ३०३ किलोभन्दा बढी गाँजा,ब्राउन सुगर ५७ दशमलव ८३ ग्राम, ट्रामाडोल/ट्रामोल २३ हजार ७०१ लागूऔषध बरामद गरिएको नायब उपरीक्षक बज्राचार्यले जानकारी दिए । ‘सो क्रममा ४२ जनालाई पक्राउ गरी कारबाही गरेका छौं,’ उनले भने, ‘लागूऔषध ओसारपसारमा २ एम्बुलेन्स, १२ मोटरसाइकल र एउटा अटोसहित चालकलाई नियन्त्रणमा लिई थप अनुसन्धानका लागि सम्बन्धित निकायमा बुझाएका छौं ।’

संकलन भएको रकम राजस्व कार्यालयलाई बुझाइसकिएको बज्राचार्यले बताए । कार्यालयले चोरी तस्करी तथा लागूऔषध नियन्त्रण र विपद् जोखिम न्यूनीकरणलाई उच्च प्राथमिकतामा राखी कार्य सञ्चालन गरिरहेको उनले जानकारी दिए ।