काठमाण्डु – नेपाली सेनाले रथी अशोकराज सिग्देलको नागरिकतामा उमेर सम्बन्धी कुनै विवाद नरहेको जनाएको छ ।
बिहीबार सैनिक मुख्यालय जंगी अड्डामा पत्रकार सम्मेलन गरेर सेनाका प्रवक्ता सहायक रथी गौरवकुमार केसीले सिग्देलको उमेर सम्बन्धमा कुनै विवाद नरहेको बताए ।
उनले भने, ‘पछिल्ला दिनमा सिग्देलको नागरिकता विवादलाई लिएर विभिन्न सञ्चारमाध्यममा समाचार प्रकाशित भए । हामीले उहाँले जागिर खाँदा बुझाएको नागरिकता लगायतको प्रतिलिपि भिडाउँदा कुनै विवाद देखिएन ।’
रथी सिग्देलको सुरूमा लिएको नागरिकता र पछि लिएको प्रतिलिपि, एसएलसी दिँदा उल्लेख गरेको जन्ममिति लगायतका कागजात पत्रकार सम्मेलनमा सार्वजनिक गरिएको छ ।
सार्वजनिक गरिएको नागरिकतामा सिग्देलको उमेर १७ वर्ष भनेर उल्लेख गरिएको थियो । २०५८ जेठ ८ गते जाजरकोट जिल्ला प्रशासनबाट नागरिकताको प्रतिलिपि लिएको उल्लेख थियो ।
सिग्देलको एसएलसीको प्रमाणपत्रमा जन्म मिति २०२३ माघ १९ छ । जुन नागरिकता २०४० साल भदौ २९ गते जारी भएको थियो । अर्को २०४३ भदौ १२ मा सुपिङ बहुमुखी क्याम्पसबाट जारी भएको प्रमाणपत्र छ । त्यसमा पनि २०२३ माघ १९ कै मितिमा जन्म भएको उल्लेख छ ।
उनले भने, ‘नागरिकता र एसएलसी दिँदा जन्ममिति एउटै छ । यसको अलावा नेपाली सेनामा भर्ना हुँदा पनि उहाँले यही नागरिकता र यही प्रमाणपत्र पेश गरेको पनि जानकारी गराउन चाहन्छु । कुनै प्रमाण पत्रमा वर्ष मात्रै उल्लेख भएको र अर्को प्रमाण पत्रमा पूरा जन्म मिति खुलेको रहेछ र त्यस्तो प्रमाण पत्रमा उल्लिखित जन्म मितिहरूका बीचमा १ वर्षसम्मको अन्तर देखिएमा पूरा खुलेको जन्म मितिलाई आधार मान्नुपर्ने व्यवस्था रहेको छ ।’
नेपाली सेनाका प्रधानसेनापति प्रभुराम शर्माको कार्यकाल भदौ २४ गते सकिँदैछ । त्यसपछि रथी सिग्देल नै प्रधानसेनापति हुने रोलक्रममा छन् ।
प्रतिक्रिया