प्रधानसेनापति शर्माद्वारा भर्चुअल माध्यमबाट पृतनापतिहरूलाई सम्बोधन

प्रधानसेनापति शर्माद्वारा भर्चुअल माध्यमबाट पृतनापतिहरूलाई सम्बोधन


काठमाण्डु – प्रधानसेनापति महारथी प्रभुराम शर्माले मंगलबार भर्चुअल माध्यममार्फत पृतनापतिहरूलाई सम्बोधन गरेका छन् ।

शर्माले ४१ वर्ष लामो सैनिक सेवा एवं प्रधानसेनापतिको ३ वर्षे कार्यकालको उत्तराद्र्धमा पृतनापतिहरूलाई सम्बोधन गरेका हुन् ।

सम्बोधनका क्रममा उनले आफ्नो कार्यकालमा नेपाली सेनालाई प्राप्त संविधानप्रदत्त जिम्मेवारीका साथै नेपाल सरकारबाट प्राप्त थप जिम्मेवारी कुशलतापूर्वक बहन गर्न पुर्‍याएको योगदानका लागि पृतनापति लगायत अन्तर्गतका सकलदर्जालाई धन्यवाद दिए ।

उनले व्यक्ति केन्द्रित आकस्मिक योजनाहरूभन्दा पनि वस्तुगत अन्तर्क्रिया, तार्किक बहस र विस्तृत पुष्ट्याइँ सहितको सामूहिक योजनाहरूले हाम्रो बुझाई साथै गराइमा प्राथमिकता पाउने हुँदा नै नेपाली सेना समस्त नेपाली जनताको आड र भरोसाको धरोहर रहेको बताए । उनले सदैव राष्ट्रिय सुरक्षा एवं राष्ट्र हित अनुरूप असरदार रूपमा कार्य गर्न निर्देशन दिए ।

सम्बोधनकै क्रममा प्रधानसेनापति शर्माले नेपाली सेनाले अनुसरण गर्दै आएको सैनिक मूल्य मान्यतालाई अक्षुण्ण राख्दै एक भरोसादार एवं प्रभावकारी संगठनको रूपमा स्थापित गराई राख्न भावी नेतृत्वलाई समेत आफूलाई जस्तै साथ सहयोग दिइरहने विश्वास व्यक्त गरे ।

उनले हाल मनसुनका कारण देशका विभिन्न स्थानमा गएको बाढी, पहिरोमा सकलदर्जाले पुर्‍याएको योगदानका लागि धन्यवाद व्यक्त गर्दै उच्च हौसलाका साथ विपद् प्रतिकार्यमा लागि रहन निर्देशन समेत दिए ।

बलाधिकृत रथी अशोकराज सिग्देल, युद्धकार्य विभागका निमित्त विभागीय प्रमुख लगायत रथीवृन्द तथा अधिकृतहरूको उपस्थिति रहेको कार्यक्रममा पृतनापतिहरूले प्रधानसेनापतिसमक्ष विद्यमान विपद् प्रतिकार्यमा फौजको परिचालन लगायत समसामयिक विषयमा प्रस्तुतीकरणमार्फत संक्षिप्त जानकारी गराएका थिए ।