प्रभावितको उद्धारका लागि यी ३ जिल्लामा सेनाको हेलिकोप्टर परिचालन

प्रभावितको उद्धारका लागि यी ३ जिल्लामा सेनाको हेलिकोप्टर परिचालन


काठमाण्डु – गृह मन्त्रालयले प्राकृतिक विपद्बाट प्रभावित ३ जिल्लामा नागरिकको खोज तथा उद्धारका लागि नेपाली सेनाको हेलिकोप्टर परिचालन गरेको छ ।

शनिबार दिउँसोपछि मौसम सामान्य बन्दै गएपछि बाढी, पहिरो र डुबान पीडितको उद्धारका लागि सेनाको हेलिकप्टर काभ्रेपलाञ्चोक, मकवानपुर र सिन्धुली पठाइएको गृह मन्त्रालयका प्रवक्ता ऋषिराम तिवारीले जानकारी दिए ।

‘प्रभावित क्षेत्रमा मौसम प्रतिकुल हुँदा हेलिकोप्टर पठाउन सकिएको थिएन,’ उनले भने, ‘मौसममा सुधार आएपछि ३ जिल्लामा सैनिक हेलिकोप्टर पठाएका छौं ।’

सेनाको हेलिकोप्टरले शनिबार काठमाण्डु उपत्यका लगायत विभिन्न प्रभावित स्थानबाट उद्धार गरेको छ ।

विपद्बाट हुने क्षति न्युनिकरण, नागरिकको जिउधनको रक्षा र विपद्मा परेकाहरूको खोज तथा उद्धारमा २० हजारभन्दा बढी सुरक्षाकर्मी खटिएका गृह मन्त्रालयले जनाएको छ ।

गृहमन्त्री रमेश लेखकले उद्धार, राहत, घाइतेको स्वास्थ्य र अवरुद्ध सडक सुचारु गर्न सरकार लागिपरेको बताएका छन् ।