काश्मिरमा अपहरणपछि १ भारतीय सैनिकको हत्या

काश्मिरमा अपहरणपछि १ भारतीय सैनिकको हत्या


काठमाण्डु – भारतको काश्मिरमा निर्वाचनको परिणाम सार्वजनिक भएको केही घण्टापछि १ सैनिकलाई सन्दिग्ध लडाकूले अपहरण गरी हत्या गरेको प्रहरीले जनाएको छ ।

काश्मिरमा १ दशकपछि पहिलोपटक भएको विधानसभा निर्वाचनको परिणाम सार्वजनिक भएको केही घण्टापछि १ सैनिकलाई सन्दिग्ध लडाकूले अपहरण गरी हत्या गरेको प्रहरीले जनाएको छ ।

सन् १९४७ मा बेलायती शासनबाट स्वतन्त्र भएदेखि नै मुस्लिम बाहुल्य रहेको काश्मिर भारत र पाकिस्तानबीच विभाजित छ ।

अनन्तनाग जिल्लामा मंगलबार साँझ २ सैनिकको अपहरण भएको प्रहरी अधिकारीले एएफपीलाई जानकारी दिएका छन् ।

‘एक जना सैनिक भाग्न सफल भए । उनलाई २ वटा गोली लागेको छ र उनको उपचार भइरहेको छ,’ नाम नबताउने शर्तमा ती अधिकारीले भने ।

सैनिकद्वयको अपहरणपछि उनीहरूको खोजी सुरु गरिएको र केही घण्टापछि अर्थात् बुधबार बिहान अर्का १ सैनिकको शव जंगलमा फेला परेको थियो ।

सन् १९८९ यता दशौं हजार सर्वसाधारण, सैनिक र विद्रोही मारिएको सशस्त्र विद्रोहसँग जुधिरहेका काश्मिरमा कम्तीमा ५ लाख भारतीय सेना तैनाथ छन् ।

भारतले पाकिस्तानमाथि विद्रोहीलाई सहयोग र हतियार उपलब्ध गराएको आरोप लगाउँदै आएको छ ।

आणविक शक्ति सम्पन्न यी छिमेकीले सन् १९४७ देखि यस क्षेत्रको नियन्त्रणका लागि कैयौपटक लडाँइ गरेका छन् ।