सेनाले मनायो संयुक्त राष्ट्रसंघ दिवस

सेनाले मनायो संयुक्त राष्ट्रसंघ दिवस


काठमाण्डु – नेपाली सेनाले संयुक्त राष्ट्रसंघको स्थापना दिवसलाई विशेष कार्यक्रमको आयोजना गरी मनाएको छ ।

संयुक्त राष्ट्रसंघको बडापत्र कार्यान्वयनमा आएको दिन २४ अक्टोबरको अवसरमा दिवस मनाइएको हो ।

सैनिक मुख्यालय भद्रकालीस्थित खेल मैदानमा प्रधानमन्त्री केपी शर्मा ओलीको प्रमुख आतिथ्यमा आयोजना गरिएको कार्यक्रममा नेपाली सेना, नेपाल प्रहरी र सशस्त्र प्रहरी बल नेपालद्वारा मार्चपास, नेपाली सेनाद्वारा विभिन्न प्रकारका झाँकी, तेक्वान्दो खेल प्रस्तुत गर्नुका साथै ३ वटै सुरक्षा निकायबाट संयुक्त ब्यान्डको प्रस्तुति गरिएको छ ।

नेपालका लागि संयुक्त राष्ट्रसंघका निमित्त आवासीय प्रतिनिधि रोबर्ट कास्काले कार्यक्रममा शुभकामना मन्तव्य राख्दै शान्ति, स्थायित्व र दीर्घकालीन विकासका लागि संयुक्त राष्ट्रसंघको कार्यक्रमहरूमा नेपालको सक्रिय योगदान तथा भूमिकाको सराहना गरे ।

कार्यक्रमलाई सम्बोधन गर्दै प्रमुख अतिथि प्रधानमन्त्री ओलीले नेपालले सदैव संयुक्त राष्ट्रसंघको बडापत्रको सम्मान गर्दै विश्व शान्तिका लागि गरेका पहलहरूमा सहकार्य गर्दै आएको र भविष्यमा पनि विश्व शान्ति स्थापनार्थ सहकार्य जारी रहने प्रतिबद्धता व्यक्त गरे ।

जलवायु परिवर्तन, गरीबी तथा सुरक्षा संवेदनशीलताले सिर्जित विश्व परिस्थितिमा समाधानका प्रयासहरू समेत बहुआयामिक रहेको र नेपालले सदैव यस्ता प्रयासहरूमा सहकार्य गर्दै विश्वका चुनौतीपूर्ण ईलाकाहरूमा आफ्ना शान्ति सैनिक तथा पर्यवेक्षकहरू खटाई विश्व शान्ति जस्तो महान् कार्यमा लामो समयदेखि संलग्न हुन पाउनु गर्वको कुरा रहेको बताए ।

समारोहमा समापन मन्तव्य राख्दै प्रधानसेनापति अशोकराज सिग्देलले नेपाल सन् १९५५ मा संयुक्त राष्ट्र संघको सदस्य भएदेखि नै विश्व शान्ति स्थापनार्थ संयुक्त राष्ट्रसंघका विभिन्न कार्यक्रमहरूमा सहकार्य गर्दै आइरहेको बताए । उनले नेपाल सरकारले संयुक्त राष्ट्रसंघलाई शान्ति सैनिक पठाउन गरेको प्रतिबद्धताअनुसार नेपाली सेना फौज पठाउन तयार रहेको बताए ।

मन्तव्यकै क्रममा उनले तालिम प्राप्त र दक्ष शान्ति सैनिकहरू तैनाथ गर्न नेपाली सेना हरहमेसा कटिबद्ध रहेको बताउँदै विश्व शान्ति स्थापनामा सहकार्य गर्ने नेपाल प्रहरी र सशस्त्र प्रहरी बल नेपालको योगदानको समेत सराहना गरे ।

युद्धकार्य विभागका विभागीय प्रमुख उपरथी प्रेमध्वज अधिकारीले स्वागत मन्तव्य राखेको समारोहमा गृहमन्त्री रमेश लेखक, परराष्ट्रमन्त्री आरजु राणा देउवा, रक्षामन्त्री मानवीर राई, पूर्व प्रधानसेनापतिहरू, नेपाल सरकारका सचिवहरू, यूएनडीओएफ मिसनका प्रमुख एवं फोर्स कमाण्डर, पूर्व फोर्स कमाण्डरहरू, नेपाल प्रहरी, सशस्त्र प्रहरी बल, नेपाल तथा राष्ट्रिय अनुसन्धान विभागका प्रमुख तथा पदाधिकारीहरू, नेपालस्थित विभिन्न देशका कूटनीतिक नियोगका पदाधिकारीहरू, विभिन्न कार्यालयका प्रमुख तथा प्रतिनिधिहरू, सञ्चारकर्मीहरू लगायत नेपाली सेनाका रथीवृन्द, अधिकृत, पदिक तथा अन्यदर्जाको उपस्थिति थियो ।

नेपाल शान्ति सैनिक पठाउने राष्ट्रहरूको सूचीमा पहिलो रहनुका साथै महिला सैनिक खटाउने राष्ट्रहरूमा समेत पहिलो स्थानमा रहेको छ । संयुक्त राष्ट्र संघीय मिसनअन्तर्गत हाल विश्वका विभिन्न ११ वटा मिसनहरूमा नेपाली सेनाका ५ हजार ९१८ नेपाल प्रहरी र सशस्त्र प्रहरी बल नेपालका १४३ गरी जम्मा ६ हजार १४१ जना शान्ति सैनिकहरू कार्यरत छन् ।