काठमाण्डु – नेपाली सेनाका प्रधानसेनापति अशोकराज सिग्देल भारत भ्रमणको क्रममा नयाँदिल्ली पुगेका छन् । भारतीय स्थल सेनाध्यक्ष उपेन्द्र द्विवेदीको औपचारिक निमन्त्रणामा ४ दिने भ्रमणका क्रममा सिग्देल मंगलबार दिल्ली पुगेका हुन् ।
भारत भ्रमणको क्रममा उनले भारतीय राष्ट्रपतिबाट भारतीय सेनाको मानार्थ महारथी दर्जाबाट सुशोभित गर्ने कार्यक्रम छ । भारत भ्रमणको क्रममा उनले भारत सरकारका उच्च पदस्थसँग भेटवार्ता गर्ने कार्यक्रम छ ।
सिग्देलको भ्रमण दलमा उपरथी अनुपजंग थापा, सहायकरथीहरू नम्रता महरा रावल र पूर्णबहादुर खत्रीसहित १० जना छन् । उनको भ्रमण दलमा रहेका उपरथी थापा सुर्खेतमा पृतनापति छन् ।
थापालाई यसअघिका प्रधानसेनापति प्रभुराम शर्माले खासै महत्त्वपूर्ण जिम्मेवारी दिएका थिएनन् । उनी केही समय सुरक्षा परिषद्मा समेत सरुवा भएका थिए । उपरथी थापा सिग्देलपछिका प्रधासेनापतिका दाबेदार हुन् । थापालाई सेनामा उच्च व्यावसायिक छवि भएका अधिकृतका रूपमा लिइन्छ ।
२८ बेसिकका थापाको भारत भ्रमणलाई अर्थपूर्ण रूपमा लिइएको छ । थापासँगै मधुकर कार्की समेत प्रधानसेनापति बन्ने प्रतिस्पर्धामा छन् तर उपरथी थापा वरियतामा अघि छन् ।
उनलाई प्रधानसेनापतिले आफ्नो पहिलो भारत भ्रमणमा सँगै राखेसँगै सेनामा भावी प्रधानसेनापतिका रूपमा सिग्देलले थापालाई अघि बढाउन खोजेको चर्चा सुरु भएको छ ।
यो पनि पढ्नुहोस-
प्रतिक्रिया