गोरखा–काठमाण्डु एकीकरण मार्ग पदयात्रा गरेर पृथ्वी जयन्ती मनाउँदै नेपाली सेना

गोरखा–काठमाण्डु एकीकरण मार्ग पदयात्रा गरेर पृथ्वी जयन्ती मनाउँदै नेपाली सेना


काठमाण्डु – नेपाली सेनाले ३०३औं पृथ्वी जयन्ती तथा राष्ट्रिय एकता दिवसको अवसरमा गोरखा–काठमाण्डु एकीकरण मार्ग पदयात्रा सुरु गरेको छ ।

नेपाल एकीकरणको क्रममा प्रयोग भएको गोरखा, धादिङ, नुवाकोट हुँदै काठमाण्डुस्थित हनुमान ढोकासम्मको पदयात्रा गोरखा–काठमाण्डु एकीकरण मार्ग पदयात्रा कार्यक्रम २०८१ आईतबार गोरखा दरबारबाट शुभारम्भ भएको हो ।

पदयात्रामा नेपालको राष्ट्रिय झण्डा, नेपाली सेनामा सबैभन्दा पहिले खडा भएका ५ कम्पनीहरू (श्रीनाथ, कालीबक्स, बर्दवाणी, पुरानो गोरख तथा सबुज) को झण्डा र टर्चसहित गोरखा जिल्लामा तैनाथ श्री रिपुमर्दन गणबाट ऐतिहासिक सैनिक पोसाक तथा परम्परागत बाजागाजासहितको टोली सहभागी रहेको छ ।

श्री पश्चिम पृतनापति उपरथी मधुकर सिंह कार्कीको प्रमुख आतिथ्यमा शुभारम्भ भएको पदयात्रा कार्यक्रममा गोरखा जिल्ला समन्वय समितिका प्रमुख, गोरखा नगरपालिकाका प्रमुख तथा उपप्रमुख, स्थानीय जनप्रतिनिधि, प्रमुख जिल्ला अधिकारी, जिल्ला स्थित सरकारी कार्यालय तथा सुरक्षा निकायका प्रमुख/प्रतिनिधि, विभिन्न संघसंस्थाका प्रतिनिधिहरू, सञ्चारकर्मी, सर्वसाधारण लगायतको उपस्थिति थियो ।

पदयात्रा कार्यक्रम धादिङ, नुवाकोट हुँदै हनुमानढोका पुगेर पुस २७ गते जङ्गी अड्डामा आयोजना हुने विशेष समारोहबीच समापन हुनेछ ।

पृथ्वी जयन्ती तथा राष्ट्रिय एकता दिवसका अवसरमा पुस २७ गते जङ्गी अड्डास्थित सभामण्डपमा राष्ट्र निर्माता श्री ५ बडामहाराजाधिराज पृथ्वीनारायण शाहको देन सम्बन्धी प्रवचन, लघु नाटक तथा वृत्तचित्र प्रदर्शन, कविता प्रतियोगिता लगायतका कार्यक्रमहरू आयोजना हुनेछ ।

पृथ्वी जयन्ती तथा राष्ट्रिय एकता दिवसलाई भव्य रूपमा मनाउन देशभर र विदेशमा तैनाथ नेपाली सेनाका विभिन्न इकाईहरूमा विविध कार्यक्रमहरू सञ्चालन भइरहेका छन् ।