काठमाण्डु – रुपन्देहीको सालझण्डीस्थित नेपाली सैनिक ब्याटल स्कूलमा पुस १६ गतेदेखि सुरु भएको नेपाली सेना र भारतीय सेना सम्मिलित संयुक्त सैनिक अभ्यास सूर्यकिरणको अठारौं संस्करण सोमबार समापन भएको छ ।
सोमबार बलाध्यक्ष रथी प्रदीपजंग केसीले विशेष कार्यक्रमबीच संयुक्त अभ्यासको समापन गरे ।
समापन कार्यक्रममा बलाध्यक्ष रथी केसीले संयुक्त अभ्यास सफलतापूर्वक सम्पन्न गर्न सहयोग पुर्याउने सम्बद्ध सम्पूर्ण निकायलाई धन्यवाद ज्ञापन गरे । सो अवसरमा उनले अभ्यासमा सहभागी फौजलाई अभ्यास सफलतापूर्वक सम्पन्न गरेकोमा बधाई दिँदै अभ्यासको दौरान दुवै देशका फौजले प्रदर्शन गरेको व्यावसायिक दक्षता, उच्चस्तरको समर्पण र सामूहिक लगाव प्रशंसनीय रहेको उल्लेख गरे ।
संयुक्त अभ्यास निर्देशक सहायक रथी सुरज गुरुङद्वारा अभ्यासको संक्षिप्त जानकारीसहित सुरु भएको कार्यक्रममा भारतीय सेनाको अभ्यास अवलोकनकर्ता समूहका तर्फबाट ब्रिगेडियर जनरल गोविन्दन प्रविणले मन्तव्य राखेका थिए ।
विपद् व्यवस्थापन, प्रतिविद्रोह, प्रतिआतंकवाद, जंगल युद्धकला र मानवीय सहयोग लगायतका विषयहरू समावेश गरी सञ्चालन भएको अभ्यासमा नेपाली सेनाबाट प्रमुख सेनानी निराजन कटवाल र भारतीय सेनाबाट कर्णेल जपेन्दर पाल सिंहको नेतृत्वमा दुवै देशका कूल ६६८ जना सैनिकहरू सहभागी थिए ।
समापन कार्यक्रममा मध्यपश्चिम पृतनापति उपरथी प्रेम बहादुर पुन, रथीवृन्द, अधिकृत, नेपालका लागि भारतीय सैनिक सहचारी लगायतको उपस्थिति थियो ।
विक्रम संवत् २०६७ सालबाट नेपाल र भारतमा आलोपालो सञ्चालन हुँदै आएको संयुक्त सैनिक अभ्यासले २ देशबीच रहँदै आएको मैत्रीपूर्ण पारस्परिक सम्बन्धलाई थप प्रगाढ बनाउनुका साथै सकल दर्जामा पेशागत सीपको विकास तथा आपसी समझदारीमा अभिवृद्धि हुने विश्वास नेपाली सेनाले लिएको छ ।
प्रतिक्रिया