उच्चस्तरीय राष्ट्रिय सुरक्षा तालिम शुभारम्भ

उच्चस्तरीय राष्ट्रिय सुरक्षा तालिम शुभारम्भ

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाण्डु – राष्ट्रिय सुरक्षा र बृहत्तर राष्ट्रिय हितका आयामहरूबारे ज्ञान र बुझाइ आदानप्रदान गर्ने उद्देश्यले आईतबार सैनिक कमाण्ड तथा स्टाफ कलेज शिवपुरीमा उच्चस्तरीय राष्ट्रिय सुरक्षा तालिम सुरु भएको छ ।

कार्यक्रमको शुभारम्भ गर्दै प्रधानसेनापति महारथी अशोक राज सिग्देलले तालिमहरूबाट राष्ट्रिय सुरक्षाका चुनौती, खतरा तथा विविध पक्षहरूबारे सम्बन्धित सबै सरकारी तथा गैरसरकारी पदाधिकारीहरूबीच साझा बुझाइ, आपसी साझेदारी र सहयोग तथा समन्वयका क्षेत्रहरू फराकिलो बनाउन ठूलो मद्दत पुग्नेमा विश्वास व्यक्त गरे ।

उनले आफ्नो जमिनी परिस्थिति, देशको अवस्थिति र सामाजिक वातावरण अनुसार सुरक्षा अवधारणाहरू तय गर्नुपर्ने कुरामा जोड दिए ।

समारोहमा आफ्नो मन्तव्य राख्दै रक्षा सचिव रामेश्वर दंगालले उच्च स्तरीय राष्ट्रिय सुरक्षा तालिमको विशिष्ट महत्त्व, आवश्यकता र उपादेयताबारे प्रकाश पारे । उनले विश्व रणनीतिक वातावरणमा देखिएका विभिन्न किसिमका सुरक्षा चुनौतीहरूको प्रभावलाई विश्लेषण गरी राष्ट्रिय हितहरूलाई प्रवद्र्धन गर्न देशका सबै शक्तिहरूको सर्वोपरि प्रयास र भूमिका आवश्यक रहेको बताए ।

रक्षा मन्त्रालय र नेपाली सेनाको सहकार्यमा सञ्चालन हुँदै आएको तालिमको दशौं संस्करण चैत्र १८ गतेसम्म सञ्चालन हुनेछ । तालिममा विभिन्न मन्त्रालय, संवैधानिक निकाय, विश्वविद्यालय, सञ्चार जगत, नेपाली सेना, नेपाल प्रहरी, सशस्त्र प्रहरी बल, नेपाल एवं राष्ट्रिय अनुसन्धान विभागबाट कूल २९ जनाको सहभागिता छ ।

विक्रम संवत् २०७२ सालबाट सुरु भएको तालिमबाट हालसम्म २२३ जना प्रशिक्षित भइसकेका छन् ।

समारोहमा बलाध्यक्ष रथी प्रदीपजंग केसी, विभिन्न मन्त्रालयका पदाधिकारीहरू, रथीवृन्द, अन्य सुरक्षा निकायका प्रतिनिधिहरू, अधिकृत र सञ्चारकर्मीको उपस्थिति थियो ।