काठमाण्डु – शिवपुरीस्थित सैनिक कमाण्ड तथा स्टाफ कलेजमा सि.सं.३२ कमाण्ड तथा स्टाफ तालिमको शुभारम्भ भएको छ ।
तालिमको शुभारम्भ गर्दै बलाधिकृत रथी निर्मल कुमार थापाले तालिमले तालिमरत अधिकृतहरूलाई अन्तराष्ट्रिय, क्षेत्रीय एवं आन्तरिक सुरक्षा चुनौतीको विश्लेषण गरी फर्मेसन तथा युनिट तहमा व्यावहारिक योजना बनाएर कार्यान्वयन गर्न सक्षम बनाउने बताए ।
उनले तालिममा सहभागी स्वदेशी तथा विदेशी शिक्षार्थीहरूलाई अनुभव आदानप्रदान गर्दै मित्रभावका साथ तालिमको सदुपयोग गर्न सुझाव दिए । मध्यम तहका अधिकृतहरूको स्टाफ तथा नेतृत्व क्षमता विकास गर्न महत्त्वपूर्ण तालिममा नेपाली सेनाका महिला ४ जनासहित ८१ अधिकृतहरू, नेपाल प्रहरी, सशस्त्र प्रहरी बल, नेपाल र राष्ट्रिय अनुसन्धान विभागका १/१ गरी ३ जना अधिकृतहरू, मित्रराष्ट्र चीनको २ तथा बंगलादेश, भारत, केन्या, माल्दिभ्स, नाइजेरिया र पाकिस्तानका १/१ जना गरी ८ विदेशीसहित जम्मा ९२ जना अधिकृतहरू सहभागी छन् ।
विक्रम संवत् २०४९ पुस १४ गते स्थापना भएको कलेजबाट हालसम्म नेपाली सेनाका १ हजार २२७, नेपाल प्रहरीका १६, सशस्त्र प्रहरी बल नेपालका २८, राष्ट्रिय अनुसन्धान विभागका १९, रक्षा मन्त्रालयका १ र विभिन्न राष्ट्रहरूका १२४ गरी जम्मा १ हजार ४१५ जना शिक्षार्थी अधिकृतहरू प्रशिक्षित भइसकेका छन् ।
शिक्षाध्यक्ष उपरथी चोकबहादुर ढकालले स्वागत मन्तव्य राखेको कार्यक्रममा रथीवृन्द, नेपाल प्रहरी तथा सशस्त्र प्रहरी बल नेपालका अतिरिक्त महानिरीक्षक, राष्ट्रिय अनुसन्धान विभागका अतिरिक्त मुख्य अनुसन्धान निर्देशक, कलेजका पूर्व शिक्षाध्यक्षहरू, पूर्व रथीवृन्द, प्राध्यापकहरू, विभिन्न राष्ट्रका सैनिक सहचारीहरू लगायत शिक्षार्थी अधिकृतहरूका परिवारजनको उपस्थिति थियो ।
प्रतिक्रिया