काठमाण्डु – गत चैत्र २८ गते गोरखा दरबारबाट सुरु भएको गोरखा–जितगढी पदयात्रा आईतबार रुपन्देही जिल्लाको बुटवलस्थित जितगढीमा पुगेर समापन भएको छ ।
पदयात्रामा सहभागी टोलीलाई पदयात्रा समापन समारोहस्थल जितगढीमा भव्य स्वागत गरिएको छ ।
गोरखा दरबारबाट सुरु भएको पदयात्रामा नेपालको राष्ट्रिय झण्डा, नेपाली सेनामा सबैभन्दा पहिले खडा भएका ५ कम्पनीहरू (श्रीनाथ, कालीबक्स, बर्दवाणी, पुरानो गोरख र सबुज) तथा जितगढी लडाइँमा सहभागी गुरुबक्स गुल्मको झण्डासहित गोरखा जिल्लामा तैनाथ श्री रिपुमर्दन गणबाट ऐतिहासिक पोशाक तथा परम्परागत बाजागाजा सहितको टोली सहभागी भएका थिए ।

करीब २०७ किलोमिटर दूरीमा सञ्चालन भएको पदयात्रा गोरखाबाट तनहुँ, स्याङ्जा, पाल्पा हुँदै ११औं दिनमा रुपन्देहीको बुटवलस्थित जितगढीमा पुगेपश्चात् स्थानीय झाँकी लगायत विविध सांस्कृतिक कार्यक्रमहरूसहित जितगढी विजय उत्सव मनाइएको छ । सो अवसरमा कार्यक्रमका प्रमुख अतिथि लुम्बिनी प्रदेशका मुख्यमन्त्री चेतनारायण आचार्यले इतिहास जगेर्नाको लागि नेपाली सेनाको सहकार्यमा सञ्चालन गरिएको गोरखा–जितगढी पदयात्रा कार्यक्रमलाई निरन्तरता दिने प्रतिबद्धता व्यक्त गरे ।
जितगढी, नेपाल–अंग्रेज युद्ध (विक्रम संवत् १८७१–७२) मा कर्णेल उजिरसिंह थापाको नेतृत्वमा नेपाली फौजले अदम्य साहस, रणकौशल एवं वीरताकासाथ युद्ध गरी विजय हासिल गरेको ऐतिहासिक स्थल हो । बुटवल उपमहानगरपालिका प्रमुख खेलराज पाण्डेयको अध्यक्षतामा सञ्चालन भएको जितगढी विजय उत्सव तथा पदयात्रा समापन कार्यक्रममा ललितपुर महानगरपालिका प्रमुख चिरीबाबु महर्जन, गोरखा नगरपालिकाका प्रमुख कृष्ण बहादुर राना, श्री मध्य पश्चिम पृतनाका पृतनापति उपरथी प्रेम बहादुर पुन, श्री नम्बर २२ वाहिनी अड्डाका बाहिनीपति, जनप्रतिनिधिहरू, बुद्धिजीवी, जिल्लास्थित सरकारी निकायका प्रमुख तथा पदाधिकारीहरू, सञ्चारकर्मी लगायत सर्वसाधारणको उपस्थिति थियो ।

प्रतिक्रिया