काठमाण्डु – पाकिस्तानमा सञ्चालन भएको ८औं इन्टरनेसनल पाकिस्तान आर्मी टीम स्प्रिट (पीएटीएस) मा स्वर्ण पदक विजेता सेनाको टोलीलाई नेपाली सेनाले सम्मान गरेको छ ।
प्रधानसेनापति अशोक राज सिग्देलले मंगलबार जङ्गी अड्डामा आयोजित कार्यक्रमबीच ‘प्रधानसेनापति प्रशंसा निशान’द्वारा सुशोभित गरेका छन् ।
अन्तर्राष्ट्रिय स्तरको सैन्य अभ्यासमा उत्कृष्ट नतिजा ल्याई नेपाल र नेपाली सेनाको छवि एवं गौरव बढाउन पुर्याएको योगदानको उच्च मूल्यांकन स्वरूप प्रतियोगितामा सहभागी ११ जनालाई सम्मान गरिएको छ ।
गत चैत २८ गतेदेखि यसै वैशाख ५ गतेसम्म पाकिस्तानको पञ्जाव प्रान्तको खेरियान इलाकामा १६ राष्ट्रका २४ वटा अन्तर्राष्ट्रिय टोलीहरूको सहभागितामा सञ्चालित सैन्य अभ्यासमा सहभागी टोलीहरूबीच शारीरिक सहिष्णुता, मानसिक दृढता, पेशागत ज्ञान र रणकौशल लगायतका दक्षताहरूको परीक्षण गरिएको थियो ।

सन् २०१६ बाट वार्षिक रूपमा सञ्चालन हुँदै आएको अन्तर्राष्ट्रिय स्तरको प्रतियोगितामा नेपाली सेनाले यसअघि सन् २०२२ मा समेत सहभागी भई स्वर्ण पदक प्राप्त गरेको थियो ।
सम्मान कार्यक्रममा बलाधिकृत, बलाध्यक्ष, रथीवृन्द, अधिकृत, पदिक तथा अन्यदर्जाको उपस्थिति रहेको थियो ।
प्रतिक्रिया