सेनाको शिविरमा स्थानीयको घुइँचो, प्रधानसेनापतिद्वारा निरीक्षण

सेनाको शिविरमा स्थानीयको घुइँचो, प्रधानसेनापतिद्वारा निरीक्षण


काठमाडौं–प्रधानसेनापति पूर्णचन्द्र थापाले राजविराजमा सञ्चालित नेपाली सेनाको निशुल्क घुम्ती स्वास्थ्य शिविरको निरीक्षण गरेका छन्।

थापाले शिविरबाट प्रदान गरिँदै आएको सेवाको जानकारी लिँदै सर्वसाधारणको सुविधालाई ध्यान दिएर काम गर्न निर्देशन दिए।

यहाँ स्वास्थ्य परीक्षण गराउन आउने सर्वसाधारणको घुइँचो लागेको छ । राजविराज नगरपालिकास्थित पब्लिक विन्देश्वरी उच्च माध्यमिक परिसरमा सञ्चालित उक्त शिविरमा दैनिक चार हजार सर्वसाधारणको स्वास्थ्य परीक्षण हुँदै आएको छ ।

स्वास्थ्य शिविरमा आउने सर्वसाधारणको चापका कारण शिविर व्यवस्थापन गर्न सुरक्षाकर्मीलाई हम्मेहम्मे परेको छ । स्वास्थ्य शिविरमा हालसम्म विभिन्न रोगका १५० भन्दा बढी बिरामीको शल्यक्रिया भइसकेको छ । फागुन १ गतेबाट शुरु भएको शिविरमा पुगेर २१ हजार सर्वसाधारणले सेवा लिइसकेका छन् ।

तराईको सुगम जिल्ला भएर पनि गरीबी, अशिक्षाका कारण यस क्षेत्रका जनतामा स्वास्थ्यको पहुँच निकै कमजोर रहिआएको छ । उक्त शिविरमा स्वास्थ्य परीक्षण गर्न आउने बिरामीलाई सेनाले निःशुल्क औषधि उपलब्ध गराएको छ ।

विशेषज्ञसहितको सबै सुविधा उपलब्ध गराइएको उक्त घुम्ती शिविरमा सप्तरीका ग्रामीण भेगका साथै सिन्धुली, उदयपुर, सिरहालगायतका जिल्लाबाट ठूलो सङ्ख्यामा सर्वसाधारण पुगेका छन् । उक्त शिविरमा आउने सर्वसाधारणमा सबैभन्दा बढी हर्निया र पित्तथैलीको पत्थरी भएको भेटिएको चिकित्सकले जानकारी दिएका छन् ।