काठमाण्डु – नेपाली सेनाले “विपद् प्रतिकार्य सम्बन्धी समन्वयात्मक बैठक–२०७९ सम्पन्न गरेको छ ।
सेनाको मुख्यालय जंगी अड्डामा आयोजित कार्यक्रममा नेपाल सरकारका विभिन्न सरोकारवाला मन्त्रालयका सचिव, राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणका कार्यकारी प्रमुख तथा सुरक्षा निकायका प्रमुखहरुको सहभागिता रहेको थियो ।
वर्षायामसँगै हुन सक्ने सम्भावित विपद्का जोखिमलाई मध्यनजर गर्दै उद्दार कार्यको योजना, फौजको प्रभावकारी परिचालन, उद्दार तथा प्रतिकार्यका निमित्त विपद् प्रतिकार्यमा खटिने सबै सरोकारवाला निकायहरुबीच छलफल एवं समन्वय गर्न आवश्यक भएको सेनाको भनाई छ ।
बलाध्यक्ष रथी सरोज प्रताप राणाले स्वागत मन्तव्य राखेको उक्त कार्यक्रममा नेपाली सेना, श्री युद्धकार्य निर्देशनालयले विपद् व्यवस्थापन सम्बन्धी विविध विषयहरुमा प्रस्तुतीकरण गरेको थियो ।
सो क्रममा राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणका कार्यकारी प्रमुख अनिल पोखरेलले यस प्रकारका विपद् व्यवस्थापनसँग सम्बन्धित कार्यक्रमहरु आयोजना गरेकोमा नेपाली सेनालाई धन्यवाद ज्ञापन गरेका थिए । उनले विपद् प्रतिकार्यका रुपमा मात्र नभई जोखिम न्यूनीकरण गर्ने विविध क्रियाकलापमा समेत नेपाली सेनाले सक्रिय भूमिका निर्वाह गरिरहेको बताउँदै प्रशंसा गर्नु भएको थियोगरेका थिए ।
साथै उनले भविष्यमा आइपर्न सक्ने विपद्का दौरान सम्पूर्ण सुरक्षा निकाय एवं सरोकारवाला निकायहरुले एक–आपसमा समन्वयकारी भूमिका निर्वाह गरी सूचनाको आदानप्रदान लगायतका अवधारणा अनुरुप विपद् प्रतिकार्यमा एकजुट भई अघि बढ्न समेत सुझाव दिएका थिए ।
प्रधानसेनापति प्रभुराम शर्माले विपद् व्यवस्थापन चुनौतीपूर्ण कार्य रहेकोले कसैको एकल प्रयासबाट सम्भव नहुने हुँदा, विपद् व्यवस्थापनमा सबै सुरक्षा अङ्गहरु तथा अन्य सरोकारवाला निकायहरुको भूमिका उत्तिकै महत्वपूर्ण रहेको बताए ।
उनले कोभिड–१९ को नयाँ भेरियन्टको संक्रमण तथा जलवायु परिवर्तन जस्ता चुनौतीहरुका बीच भविष्यमा विपद् व्यवस्थापनमा विशेष ध्यान केन्द्रित गर्नुपर्ने बताउँदै सबै किसिमका विपद्मा काम गर्न सक्ने गरी तयार गर्न राज्य संयन्त्र सजग हुनुपर्ने बताए ।
५. विपद् व्यवस्थापन कार्यमा प्रत्यक्ष वा अप्रत्यक्ष सम्बन्ध राख्ने विभिन्न सरकारी एवं सुरक्षा निकायहरुलाई सहभागी गराई संचालन हुने यस किसिमको समन्वयात्मक बैठकले विपद् प्रतिकार्यमा परिचालन हुने सम्पूर्ण निकायहरुको क्षमता अभिवृद्धि भई विपद् व्यवस्थापन कार्य थप प्रभावकारी हुने विश्वास नेपाली सेनाले लिएको छ ।
प्रतिक्रिया