नागरीकता र शैक्षिक प्रमाणपत्रमा समस्या देखिएपछि सेनाको उपरथी बढुवा रोकियो 

नागरीकता र शैक्षिक प्रमाणपत्रमा समस्या देखिएपछि सेनाको उपरथी बढुवा रोकियो 


काठमाडौं- नेपाली सेनाको उपरथी बढुवामा ढिलाई भएको छ । बढुवाको प्रतिस्पर्धामा रहेका दुई जना सहायकरथीको नागरीकता र शैक्षिक प्रमाण पत्रमा समस्या देखिएपछि बढुवामा ढिलाई भएको हो । सेनामा ५ जना उपरथीको दरबन्दी रिक्त रहेको छ । बढुवाका लागी १५ दिने सुचना समेत अहिलेसम्म निस्कन सकेको छैन् । सैनिक स्रोतले दिएको जानकारीअनुसार बढुवाको लाइनमा अहिले ६ जना सैनिक अधिकृतहरु छन् । जसमा बालकृष्ण कार्की,सरोजप्रताप राणा,अनन्त कार्की,सिताराम खड्का,ताराध्वज पाण्डे र निरन्जन श्रेष्ठ रहेका छन् । 

कार्कीलाई प्रधानसेनापति पूर्णचन्द्र थापाले पृतनापतिको जिम्मेवारीमा सुदुरपश्चिम पठाइसकेका छन् । उनले उपरथी झंकर कठायतको ठाउंमा जिम्मेवारी समेत सम्हालिसकेका छन् । उपरथीको बढुवो लागी वरियतामा अघि रहेका सहायकरथी सरोजप्रताप राणाको सक्कली नागरिकतामा नै केरमेट भएको पाइएको छ ।

उनको प्रतिलिपिमा भने शुद्धता भेटिएको रक्षा स्रोतले जनाएको छ । उनको नागरीकता किर्ते भएको भन्दै रक्षामन्त्रालयमा उजुरी समेत परेको छ । राणा यसअघि सैनिक सचिवको रुपमा कार्यरत थिए । हाल उनलाई प्रधानसेनापति थापाले कुनै पनि जिम्मेवारी दिएका छैनन् । 

त्यसैगरी अर्का सहायकथरी ताराध्वज पाण्डेको समेत हायर कमाण्ड कोर्स गर्दा स्नातक पास नगरेको उजुरी रक्षामा परेको छ । तत्कालिन प्रधानसेनापतिले योग्यता नपुग्दा नपुग्दै पाण्डेलाई उक्त कोर्समा समावेश गरेको भन्दै उनी उपरथीमा बढुवाका लागी योग्य नभएको उजुरी परेपछि बढुवामा ढिलाई भएको हो । 

दुवै जनाको बारेमा परेको उजुरीमाथी मन्त्रालय र सैनिक मुख्यालयले छानविन गरिरहेको स्रोतको दावी छ । दुवैमाथी लागेको अभियोगको बारेमा छानविन भएकाले पनि उपरथीको बढुवामा ढिलाई भएको बताईन्छ । ।