प्रधानसेनापति क्षत्रीको बेइजिङ भ्रमण : चीनसंग सैन्य अभ्यास टुगों लगाउनेमा केन्द्रित

प्रधानसेनापति क्षत्रीको बेइजिङ भ्रमण : चीनसंग सैन्य अभ्यास टुगों लगाउनेमा केन्द्रित


काठमाडौं – सैन्य कुटनीतिक भन्दैं सबैभन्दा धेरै विदेश सयरमा निस्कने प्रधानसेनापति राजेन्द्र क्षत्री अहिले म्यानमार भ्रमणमा छन् । गत मंगलबार म्यानमारका सेना प्रमुख जनरल मिन आउङ हलिङको निमन्त्रणामा क्षत्री चार दिने औपचारिक भ्रमणका शिलशिलामा म्यानमार पुगेका हुन् ।

उनी म्यानमारको चार दिने बसाइपछि २४ असारमा उतैबाट बेइजिङ प्रस्थान गर्नेछन् । क्षत्री चिनियाँ जनमुक्ति सेनाको निमन्त्रणामा बेइजिङ जान लागेका हुन् । बेइजिङमा उनले चीनका रक्षामन्त्री, जनमुक्ति सेनाका इनचिफलगायतका उच्च अधिकारीहरुसँग भेटवार्ता गर्नेछन् ।

स्रोतकाअनुसार सो भेटवार्ताका क्रममा दुई देशका सेना गर्ने भनिएको प्रति आतंकवाद सैन्य अभ्यासको दोस्रो संस्करणका मिति पनि टुंगो लाग्नेछ । यसअघि गत वर्ष ‘सगरमाथा फ्रेण्डसीप’ नाम दिइएको दुई देशका सेनाहरुको अभ्यास नेपालमा सम्पन्न भइसकेको छ । अब दोस्रो संस्करणको संयुक्त सैन्य अभ्यास भने चीनमा हुनेछ ।

उच्च सैनिक स्रोतकाअनुसार अगष्टमा यसको दोस्रो संस्करण गर्ने गरी तयारी समेत अन्तिम चरणमा पुगेको छ । ‘कहिलेबाट गर्ने भन्ने स्पष्ट मिति नै भने प्रधानसेनापतिको भ्रमणका क्रममा टुंगिएला,’ उच्च सैनिक स्रोतले भन्यो, ‘तयारी भने अगष्टमा गर्ने गरी अन्तिम चरणमा पुगिसकेको छ । रोकिएको सैन्य अभ्यासको गाँठो यो भ्रमणले पक्का फुकाउँछ ।’

प्रत्येक वर्ष गर्ने भनिएको सैन्य अभ्यास प्रधानमन्त्री केपी शर्मा ओलीको चीन भ्रमणलगायतका कारण अलि ढिला हुन पुगेको बताइएको छ । चिनियाँ जनमुक्ति सेना र नेपाली सेनापछि पछिल्लो समय घनिष्ठ सम्बन्ध स्थापित भएको छ । प्रधानमन्त्री ओलीको भ्रमणका क्रममा पनि दुई देशका सेनाबीच सहयोग आदान—प्रदान, भ्रमण, तालिम आदि बढाउँदैं लैजाने सहमति भएको थियो ।