काठमाडौं– नेपाली सेनाका उपरथी प्रभुराम शर्माको पदावधी थप भएको छ । सेनाका युद्धकार्य महानिर्देशक समेत रहेका शर्माको पदावधी १ वर्ष २ महिना १५ दिनका लागी थप भएको हो । सरकारका प्रवक्ता समेत रहेका सुचना तथा संचारमन्त्री गोकुल बांस्कोटाले नेपाली सेनाका उपरथी शर्माको पदावधी थप भएको जानकारी दिए ।
शर्माको उपरथीमा पदावधी थपसंगै सेनाको भावी प्रधानसेनापति बन्ने बाटो समेत खुला भएको छ । उनको उपरथीको तिन वर्षे नियमित पदावधी आगामी कार्तिकमा सकिंदैछ । सैनिक मुख्यालयको सिफारीसमा उनको पदावधि थपको फाइल मन्त्रिपरिषदमा निर्णयका लागी पुगेको थियो ।
उपरथी शर्मा हालका बलाध्यक्षरथी गौरव तण्डुलले रथीबाट आगामी वैशाख १९ मा अवकास पाएसंगै रथीमा बढुवा हुनेछन् । त्यसलगत्तै अर्का रथी शरद गिरीले समेत असार ०६ गते अनिवार्य अवकास पाउनेछन् । रथीद्धय गिरी र तण्डुलको अवकाससंगै शर्मा सेनामा प्रधानसेनापति थापापछि वरियतामा दोस्रो नम्बरका जर्नेल बन्नेछन् ।
सेनामा व्यवसायिक सैनिक अधिकृतको छवि बनाएका शर्माले नेशनल डिफेन्स कोर्स (एनडिसी) भारतबाट गरेका छन् ।
हालका प्रधानसेनापति पूर्णचन्द्र थापाले २०७८ भदौ २४ मा अनिवार्य अवकास पाएसंगै शर्मा उनको ठाउंमा नेपाली सेनाको प्रधानसेनापति बन्नेछन् । उपरथीमा पदावधी थप गरेपछि शर्माको हकमा रथीमा पदावधी थप गर्नुपर्ने अवस्था रहने छैन् । किनभने शर्मा रथी बनिसकेपछि उनको रथीको दुई वर्षे पदावधी २०७८ पुष सम्म कायम रहनेछ ।
सेनापति थापाले समेत आफ्नो उत्तराधिकारीका रुपमा शर्मालाई नै अघि सारेको सेनाभित्र चर्चा छ ।
प्रतिक्रिया