सेनामा रथीको बढुवा प्रक्रिया सुरु हुंदै, उपरथी वस्नेतको बढुवा नहुने निश्चित 

सेनामा रथीको बढुवा प्रक्रिया सुरु हुंदै, उपरथी वस्नेतको बढुवा नहुने निश्चित 


काठमाडौं– नेपाली सेनामा रथीको बढुवा प्रक्रिया सुरु गर्ने तयारी भएको छ । उच्च सैनिक स्रोतले दिएको जानकारीअनुसार सेनामा रिक्त बलाध्यक्षरथी पदमा सैनिक मुख्यालयले बढुवा गर्ने तयारी गरेको हो ।  सेनामा रथीको दरबन्दी गत भदौ २४ देखी रिक्त छ । 

हाल बढुवाको लागी वरियतामा अघि रहेका उपरथी अनुज वस्नेतको शैक्षिक प्रमाणपत्रमा समस्या देखिएपछि सेनाले उनको बढुवा रोक्ने निश्चित भइसकेको छ ।  

वस्नेतलाई राजिनामा गर्न वा सहज वर्हिगमनको लागी बाटो रोज्न सैनिक नेतृत्वले सन्देश दिइसकेकोे बताइन्छ । उनले बढुवा रोकिएको गुनासो रक्षामन्त्री ईश्वर पोखेररलाई समेत गरिसकेका छन् । तर, सरकार उनको बारेमा निर्णय फेर्ने लाइनमा नरहेको रक्षामन्त्री निकट स्रोत बताउंछ ।  

वस्नेतलाई राजिनामा दिन सन्देश दिएपनि उनि भने मंसिर २५ गतेसम्म नै आफु उपरथी पदमा बस्ने बताइरहेका छन् । उनी अहिलेको सैनिक ऐनमा भएको नियमअनुसार मंसिर २५ गतेसम्म सैनिक सेवामा वस्न पाउनेछन् । त्यसअघि नै विदामा वस्ने वा राजीनामा दिने विकल्प भने उनका लागी खुला नै छ । 

वस्नेतको उपरथीमा बढुवा नभएपछि सेनाको सैनिक गुप्तचर प्रमुख रहेका उपरथी देवकुमार सुवेदी रथी (तीन तारे जर्नेल) बन्ने लाईनमा छन् । सेनामा सुवेदीभन्दा वरियतामा अघि वस्नेत र अर्का उपरथी शेखरसिंह वस्नेत थिए । उपरथी शेखरसिंहले उमेर हदका कारण अवकास पाइसकेका छन् । उनी कार्यरथी विभागका प्रमुख थिए । प्रधानसेनापति पुर्णचन्द्र थापाले कार्यरथी विभागको जिम्मा समेत सुवेदीलाई दिएका छन् ।

सेनापतिले त्यसपछिका उपरथी सुवेदीको ठाउंमा उपरथी शरद गिरीलाई बढुवा गर्ने चर्चा चलेपनि रथीमा बढुवा भने सुवेदीलाई नै गर्ने तयारी छ । हाल सेनामा दुई रथीको दरबन्दी छ । सेनाको बलाधिकृत रथीमा हेमन्त कुवंर छन् भने बलाध्यक्षरथी भने रिक्त छ ।

रथी बढुवाको लाइनमा रहेका उपरथी सुवेदी हाल सैनिक गुप्तचरको प्रमुख छन् । उनि १९ बेसिकका सैनिक अधिकृत हुन् । सुवेदीले यसअघि मध्यपृतनाको पृतनापतिको जिम्मेवारी सम्हालेका थिए । उनले भारतबाट एनडिसी गरेका छन् । सुवेदीमाथी यसअघि उपरथीमा बढुवा हुंदा नागरीकता सच्याएको आरोप लागेको थियो । 

तर, पछि छानविनबाट भने उनिमाथी लागेको आरोप गलत सावित भइसकेको छ । सुवेदीको बढुवा रोक्न त्यतिवेला उनकै प्रतिस्पर्धीले नागरिकताको विषयलाई उचालेको कतिपयको बुझाई छ । 

सुवेदी सेनाभित्र व्यावसायीक अधिकृतका रुपमा चिनिन्छन् । उनी आर्थीक रुपमा समेत विवादमा नआएका उच्च सैनिक अधिकारी हुन् । सुवेदी तीन तारे जर्नेलमा बढुवा भएपनि सेनापति बन्ने सम्भावना भने देखिदैन् । उनको बढुवाले यसपछि प्रधानसेनापति वन्ने रोलक्रममा समेत कुनै असर नपर्ने सैनिक स्रोतको दावी छ । 

 

सैनिक मुख्यालयले रथीको बढुवा प्रक्रिया सुरु गर्ने तयारी गरेको छ । वरियताका आधारमा सुवेदीको बढुवा प्रक्रिया सुरु भए उजुरीको लागी १५ दिनको समय हुनेछ । त्यसपछि उनि रथीमा बढुवा सिफारीस हुनेछन् । सैनिक ऐनमा प्रधानसेनापतिको सिफारीसमा रथीको बढुवा हुने उल्लेख छ । सेनापतिले रथीको बढुवा प्रक्रिया सिफारीस गरेपछि मन्त्रिपरीषद बैठकले त्यसलाई अनुमोदन गर्ने वा नगर्ने अन्तिम निर्णय लिनेछ । 

प्रधानसेनापति पूर्णचन्द्र थापाले सेनापतिको रुपमा कार्यभार सम्हालेसंगै सेनामा थुप्रै सुधारका काम गरेका छन् । उनले गुटमा विश्वास गरेर काम गर्ने भन्दा प्रणालीको विकास  गर्नेतर्फ ध्यान दिएको सेनाका एक उपरथी बताउंछन् । 

सेनापतिले सेनाको नक्कली प्रमाणपत्र, फास्ट ट्रयाक बढुवाका नाममा यसअघि सुरु गरिएको बढुवा पद्धती, भष्ट्राचार,आर्थीक अनियमितता र अपारदर्शीताका विरुद्ध कठोर कदम चाल्ने संकेत दिइसकेका छन् । सेनामा उनले त्यसको कार्यान्वयन गर्न समेत सुरुवात गरिसकेका छन् । 

पछिल्लो समय सेनाभित्र भनसुन,नातावाद र सिफारीसको बोलवाला भएपछि उनले सेनामा पद्धती बसाल्न आफुले जस्तोसुकै कदम चाल्ने सन्देश दिइसकेका छन् । सेनापतिले सेनामा सुधार गर्न नै सवै अधिकृतहरुको शैक्षिक प्रमाणपत्र र नागरिकताको विवरण माग गरेको सेनाका एक सहायकरथी बताउंछन् । 

‘चिफ साप कसैको कुरा सुन्नेभन्दा पनि प्रमाणमा विश्वास गर्नुहुन्छ,उहाले आरोप लगाएका भरमा धारणा बनाउनुहुन्न, प्रमाण हेरेर निर्णय गर्नुहुन्छ ।’ सेनाका एक उपरथीले भने । 

प्रधानसेनापतिले सेनामा उपहार लिन कडाई गर्नुका साथै भर्ना छनौटमा हुने अपारदर्शीताको समेत अन्त्यका लागी कडाईका साथ काम गरिरहेका छन् । उनले चिठठी पत्र पत्राचारका नाममा हुने पैसाको खर्च र लाग्ने समयको अन्त्य समेत गरेका छन् । सेनापतिले सेनामा इन्ट्रानेट सिस्टमको सुरुवात गरेका छन् । यसले गर्दा सेनाभित्रको आन्तरीक पत्राचार इन्टरनेट प्रयोग नगरी कम्युटरमार्फत नै गर्ने भएकाले त्यसमा पैसा र समयको बचत भएको छ । पछिल्लो समय लेखामा दुई तारे जर्नेल रहेका भुवन अधिकारीलाई समेत प्रधानसेनापतिले जिम्मेवारी विहिन बनाएका छन् । 

प्रधानसेनापति थापाका आफन्त पर्ने अधिकारी विवादित पृष्ठभुमि भएका सैनिक अधिकारी हुन् । उनको आर्थीक अधिकार समेत प्रधानसेनापतिले कटौती गरेको चर्चा सैनिक मुख्यालयमा छ । उपरथी अधिकारीलाई राजीनामा नरोजे कार्वाही गर्नेसम्मको तयारी भएको बुझिएको छ । 

किन रोकियो उपरथी बस्नेतको बढुवा ? 

सेनामा उच्च अधिकत बढुवा रोकिने विषय सामान्य आरोपले सम्वभ हुंदैन् । उपरथी वस्नेत सेनाका शक्तिशाली उपरथी हुन् । उनि यसअघि सेनामा जहिले शक्तिमा रहेका सैनिक अधिकारी मानिन्छन् । उपरथी वस्नेतले चीनबाट नेशनल डिफेन्स कोर्स (एनडिसी) गरेका थिए । उनलाई तत्कालिन प्रधानसेनापति गौरव शम्शेर राणाले चीनमा एनडिसीका लागी पठाएका थिए ।

नेपालीमा स्टाफ कलेज गरेकालाई एनडिसीमा नपठाउने निति विपरीत वस्नेतलाई चीन पठाएकोमा सेनाभित्र विरोध भएको थियो । उनले एनडिसीमा जानको लागी पास गर्नुपर्ने आईएलटिएस (अंग्रेजी भाषा परिक्षा) समेत भारतबाट उर्तिण गरेका थिए । 

अन्य सैनिक अधिकृतले भाषा परिक्षा नेपालबाटै उर्तिण गरेपनि बस्नेतले भने भारतबाट उर्तिण गरेका थिए । तत्कालिन प्रधानसेनापति राणाले उमेर हद नाघेका सहायकरथी ज्ञानेन्द्र रायामाझिलाई समेत एनडिसीका लागी चीन पठाएका थिए । रायमाझिले एनडिसी गरेपनि उनको उपरथीमा बढुवा भने भएन् ।

उपरथी बस्नेत सहायकरथीबाट उपरथीमा बढुवा भएपछि उनको म्याद थप्ने नथप्नेबारे त्यतिबेला चर्चा भएपनि अन्तिममा तत्कालिन प्रधानसेनापति राजेन्द्र क्षेत्रीले उनको म्याद थप गरेका थिए । उनको म्याद थपमा तत्कालिन रक्षामन्त्री भिमसेन दास प्रधानको समेत हात रहेको थियो । उपरथीमा बढुवा भएर म्याद समेत थप भइसकेको अवस्थामा बस्नेतको रथीमा बढुवा रोक्नुलाई सेनामा कतिपयले पुर्वाग्रह भएको आरोप समेत लगाउने गरेका छन् । तर, प्रधानसेनापति थापाले डेढ महिनासम्म बढुवा रोक्नुको कारण भने सम्बद्ध सवैलाई बुझाइसकेको स्रोतको दाबी छ ।