काठमाण्डु – नेपाली सेनाको प्रधानसेनापति राष्ट्रिय लन टेनिस प्रतियोगिता हुने भएको छ । सोमबार सेनाले पत्रकार सम्मेलन आयोजना गरी मंसिर २७ देखि पुस ५ गतेसम्म प्रतियोगिता हुने जानकारी दिएको हो ।
प्रतियोगितामा खुलातर्फ महिला र पुरुष गरी चार प्रतिष्पर्धा हुनेछन् भने भेट्रानतर्फ विभिन्न उमेर समूहमा सातवटा र एक अन्तर सरकारी प्रतिष्पर्धा हुनेछ । प्रतियोगिता अन्तर्राष्ट्रिय टेनिस संघ र राष्ट्रिय टेनिस संघको नियमअनुसार खेलाइने आयोजकले जनाएको छ ।
आर्मी अफिसर्स क्लबको दुईवटा कोर्ट र दशरथ रंगशालामा रहेका दुई कोर्टमा सञ्चालन हुने सबै खेलमा सहभागि खेलाडीहरुले कोरोनाबिरुद्धको खोप अनिवार्य लगाएको हुनुपर्ने सेनाले जनाएको छ ।
खुलातर्फ विजयी एकल पुरुष र महिलाले समान ५०/५० हजार रुपैयाँ पुरस्कार पाउने छन् । डबल महिला र पुरुषतर्फ ४० हजार रुपैयाँ पुरस्कार रहेको सेनाले जनाएको छ । त्यस्तै‚ भेट्रानतर्फ एकलले ३० हजार रुपैयाँ, डबलले २५ हजार रुपैयाँ र अन्तर सरकारी तर्फको बिजेतालाई २५ हजार रुपैयाँ प्रदान गरिने नेपाली सेनाले जनाएको छ ।
प्रतिक्रिया