खप्तड गोल्डकपको उपाधि हात पार्दै आर्मीले पायो ११ लाख ११ हजार

खप्तड गोल्डकपको उपाधि हात पार्दै आर्मीले पायो ११ लाख ११ हजार


धनगढी– धनगढीमा भएको सुदूरपश्चिम खप्तड गोल्डकप फुटबल प्रतियोगिताको उपाधि विभागीय टोली त्रिभुवन आर्मी क्लबले हात पारेको छ।

 

सोमबार धनगढी रंगशालमा भएको फाइनल खेलमा विभागीय टोली सशस्त्र प्रहरी बलको एपीएफ क्लबलाई पाखा लगाउँदृै आर्मीले उपाधिमाथि कब्जा जमाएको हो।

 

 

आर्मीले एपीएफलाई पेनाल्टी सुट आउटमा ५–४ ले पराजित गरेको हो। उपाधीसंगै आर्मीले नगद ११ लाख ११ हजार १ सय ११ सहित ट्रफी र प्रमाणपत्र प्राप्त गरेको छ।
गत वर्ष मनाङ च्याम्पीयन बनेको थियो।

 

यो आर्मीको यस सिजनको चौथो उपाधि हो। गत महिना झापामा सताक्षी गोल्डकप र मेची नेत्रालयल काकरभित्ता गोल्ड कपको उपाधि जितेको थियो।

 

त्यस्तै वीरगन्जमा खेलिएको विशाल मेमोरियको उपाधि पनि आर्मीले नै हात पारेको थियो। एपिएप्m भने लगातार चार पटक फाईनलमा पुगेर उपाधि जित्नबाट चुकेको छ।

 

यसअघि जेसिज कप, दुधे गोल्डकप, राईनो कपमा पनि फाईनलमा पराजिभत भएको एपिएफ खप्तड गोल्डकपको पनि फाईनलमा पुगेर पराजित भएको हो। एपीएफका जर्सी नम्वर १२ का खेलाडी सुदिप सिन्ग्राकारले हानेको प्रहार पोलमा लागेर फर्कीएपछि एपीएफले उप विजेतामा चित्त बुझाउन परेको हो।

 

 

उपविजेता एपीएफले ५ लाख ५५ हजार ५ सय ५५ रुपैयामा चित्त बुझाएको छ। म्यान अफ द फाईनल आर्मीका नवयुग श्रेष्ठ भए।

 

प्रतियिोगितामा आर्मीका कप्तान भरत खवास उत्कृष्ठ खेलाडी हुँदै यमाहा मोटरसाइकल पाए। यस्तै उत्कृष्ट गोलकिपर आर्मीका विकेश कुथु, उत्कृष्ट डिपेन्डर एपीएफका टोप विष्ट, उत्कृष्ट फरवार्ड आर्मीका सन्तोष तामाङ र राईजीङ प्लेयर सुदुरपश्चिम ११ का गोलकिपर अमानत शेख भए।

 

सवै विधाका उत्कृष्ट खेलाडीहरुले नगद १५–१५ हजार नगद प्राप्त गरेका छन्।

 

उपाधि विजेता र उपविजेतालाई प्रतियोगिता समापन समारोहमा राष्टिय खेलकुद परिषदका सदस्य सचिव केशव कुमार बिष्टले पुस्कार प्रदान गरे । पुस २१ गतेबाट सुरु भएको प्रतियोगितामा ए डिभिजनका १२ टिमको सहभागीता रहेको थियो ।

तेस्रो संस्करणको पुरस्कार राशी दोब्बर
सुदूरपश्चिम खप्तड गोल्डकप फुटबल प्रतियोगिताको पुरस्कार राशीमा अर्को वर्ष झन्डै दोब्बरले बृद्धि हुने घोषणा गरिएको छ।

 

तेस्रो संस्करणको खप्तड गोल्ड कपको विजेतालाई २१ लाख नगद दिने आयोजक सुदूरपश्चिम ११ स्पोर्टस क्लबका अध्यक्ष सुरेश हमालले घोषणा गरे। विजेतालाई मात्र नभई उपविजेता टोलीले पनि अर्को वर्ष १० लाख ५० हजार रुपैयाँ पाउने हमालले बताए।

 

स्थानीय व्यक्तिहरुको हौसला र फुटवल प्रतिको क्रेजका कारण पुरस्कार राशी दोव्वरले बढाउने निर्णय भएको अध्यक्ष हमालले बताए।

 

सुदूरपश्चिममा पहिलो पटक गत बर्ष आयोजना गरिएको सुदुरपश्चिम खप्तड गोल्डकपको पहिलो संस्करणको विजेताले ५ लाख रुपैयाँ प्राप्त गरेको थियो।