काठमाण्डु – प्रधानमन्त्री कप राष्ट्रिय क्रिकेट प्रतियोगितामा त्रिभुवन आर्मी कल्बले प्रदेश १ लाई ४ विकेटले हराउँदै लगातार तेस्रो जित हासिल गरेको छ । बुधबार भएको खेलमा आर्मीले प्रदेश १ लाई ४ विकेटले हराएपछि प्रदेश १ समूह ‘ए’ र प्रतियोगिताबाट औपचारिक रुपमा बाहिरिएको छ ।
जितका लागि १ सय ३२ रनको विजयी लक्ष्य पछ्याएको आर्मीले २९.५ ओभरमा ६ विकेट गुमाउँदै पूरा गर्यो । आर्मीको जितमा युवा ब्याट्सम्यान रोहित कुमार पौडेलले ३१ बलमा ४ चौका र २ छक्का सहित सर्वाधिक ३६ रनको योगदान दिए । अर्का युवा ब्याट्सम्यान भिम सार्की ६१ बलमा १ चौका र १ छक्का सहित २९ रनमा रन आउट भए ।
राजेश पुलामी २७ बलमा २ चौका र १ छक्का सहित २४ रनमा अविजित रहे । राजेशले जितको लागि तीन रन चाहिँएको अवस्थामा ज्ञानेन्द्र श्रेष्ठलाई छक्का प्रहार गर्दै खेल सकाएका थिए । योसँगै आर्मी सेमिफाइनलको नजिक पुगेको छ ।
प्रतिक्रिया