वानएक्स बेटमा कलाकार बल्छी ध्रुबेसहित ८ जना पक्राउ

वानएक्स बेटमा कलाकार बल्छी ध्रुबेसहित ८ जना पक्राउ


काठमाण्डु- प्रतिबन्धित अनलाइन बेटिङ एप ‘वान एक्स बेट’मा सट्टेबाजी गर्ने र त्यसको विज्ञापन गरेको आरोपमा ८ जनालाई प्रहरीले पक्राउ गरेको छ । काठमाण्डु उपत्यका अपराध अनुसन्धान कार्यालयले नेपालका चर्चित कलाकारसहित आठ जनालाई पक्राउ गरेको हो ।

जसअनुसार पक्राउ पर्नेमध्ये एक जना ‘बल्छी ध्रुबे’, नामले चर्चित कलाकार मरिचमान श्रेष्ठ समेत रहेका छन् । प्रहरीले तत्कालका लागि पक्राउ वर्नेहरुको नाम गोप्य राखेको छ । प्रहरीले उनीहरूलाई म्याद थप गरी सार्वजनिक गर्ने तयारी गरिरहेको छ।

पक्राउ परेका कलाकारहरूले युट्युबमार्फत् वानएक्स बेटको विज्ञापन गरेको आरोप छ । युट्युबमा प्रोमो कोड प्रयोग गरी वानएक्स बेटिङमा छुट प्राप्त गर्न सकिने भन्दै विज्ञापन गरेको देखिन्छ।

आइतबार राति बल्छीको आधिकारिक युट्युब च्यानलबाट सार्वजनिक भएको ‘हल्का रमाइलो’ हास्य टेलिश्रृंखलाको ६१औं भागमा यसको २० सेकेन्ड लामो विज्ञापन राखिएको छ । १० लाखभन्दा धेरै सब्सक्राइबर भएको त्यो च्यानलबाट अपलोड भएको यो विज्ञापनसहितको भिडियो ४ लाखभन्दा धेरै पटक हेरिसकिएको छ ।