‘मस्ट वान्टेड’ सूचीमा रहेका भारतीय नागरिक पक्राउ

‘मस्ट वान्टेड’ सूचीमा रहेका भारतीय नागरिक पक्राउ


रौतहट – भारतीय प्रहरीको ‘मस्ट वान्टेड’ सूचीमा रहेका १ जना भारतीय नागरिकलाई लुटपाटमा संलग्न रहेको आरोपमा रौतहट प्रहरीले पक्राउ गरेको छ ।

पक्राउ पर्नेमा भारतको बिहार राज्य मोतिहारी जिल्ला पूर्वी चम्पारण थाना घोडासहन ग्राम पञ्चायत बसवरिया–२ का २० वर्षीय मोनुकुमार जैसवाल रहेका जिल्ला प्रहरी प्रवक्ता डीएसपी एलिजा गिरीले बताइन् ।

गत जेठ २२ गते बिहान साढे १० बजे मौलापुर नगरपालिका–६ पथरा बुधरामस्थित सडक खण्डमा माँ बचत तथा ऋण सहकारी संस्थामा काम गर्ने बौधिमाई–८ का २४ वर्षीय अरविन्द कुमार दास १७ लाख झोलामा राखी राष्ट्रिय वाणिज्य बैंकमा जम्मा गर्न विआर ०५ एएन ८७६२ भारतीय नम्बरको प्लाटिना मोटरसाइकलमा चढेर मौलापुरतर्फ गइरहेका थिए ।

विपरीत दिशाबाट आएका ३ जना अपरिचित व्यक्तिहरूले रकम लुटपाट गर्ने उद्देश्यले अरविन्द कुमार दासलाई पछाडिबाट गोली हानी भागेर फरार भएका थिए । प्रहरीले अनुसन्धानको क्रममा घटनामा संग्लन अभियुक्तहरू सीमावर्ती भारतको बिहार राज्य मोतिहारी जिल्ला पूर्वी चम्पारण घोडाहसनमा सक्रिय रहेको बाबा ग्याङ नामको आपराधिक समूहमा आबद्ध रहेका व्यक्तिहरूसँग साँठगाठ रहेको निष्कर्ष निकालेको थियो ।

भारत र नेपालको सिमावर्ती ईलाकामा लुटपाट, भारतीय सामानको तस्करीमा सक्रिय रहेको प्रहरीको अनुसन्धानबाट खुलेको छ ।

गत २ गते साँझ साढे ५ बजेको समयमा मौलापुर–७ स्थितबाट घरेलु कटुवा पेस्तोल १ थान, गोली राउण्ड २ थान समेत भारतीय नागरिक जैसवाललाई पक्राउ गरिएको प्रहरी प्रवक्ता डीएसपी गिरीले बताइन् ।

जैसवालमाथि हातहतियार तथा खरखजना, चोरी तथा डाँका र ज्यान मार्ने उद्योग मुद्दा दर्ता गरी रौतहत जिल्ला अदालतबाट म्याद थप ग्र िअनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय रौतहटले जारी गरेको सूचनामा उल्लेख गरिएको छ ।

आरोपी भारतीय नागरिक मोनु जायसवाल भारतीय प्रहरीले मस्ट वान्टेडको सूचीमा रहेका छन् । उनीमाथि घोडासहन र झरौखर थानामा १ दर्जनभन्दा बढी आपराधिक मुद्दाहरू दर्ता रहेका मोतीहारी जिल्लाका एसपी कान्तेश कुमार मिश्रले बताए । आरोपी जैसवालमाथि भारतीय क्षेत्रमा अवैध हतियारको कारोबार, लुटपाट, अपहरण, अवैध मदिरा ओसारपसार जस्ता मुद्दा दर्ता रहेका भारतीय प्रहरीको जनाएको छ ।

गत मार्च महिनामा जैसवालले अन्य केही साथीहरूसँग मिलेर भारतीय सीमा सुरक्षा बल जमुनिया क्याम्पका एक जना जवानमाथि आक्रमण गरेका थिए । घटनामा संलग्न अन्य केही अभियुक्त पक्राउ परेका थिए भने मुख्य योजनाकार जैसवाल नेपालतर्फ भागेर जोगिएको एसएसबीले जनाएको छ ।