विवाहको बहानामा चीन पुर्‍याई मानव बेचबिखन गर्ने महिला पक्राउ

विवाहको बहानामा चीन पुर्‍याई मानव बेचबिखन गर्ने महिला पक्राउ


काठमाण्डु – विवाहको वहानामा चीन पुर्‍याई मानव बेचबिखन गरेको अभियोगमा उदयपुरको त्रियुगा नगरपालिका–१ जोगीदह घर भएकी ३१ वर्षीया सुन्दरी राईलाई प्रहरीले पक्राउ गरेको छ ।

चीनस्थित नेपाली राजदूतावासको समन्वयमा असार ९ गते उद्धार भई नेपाल फर्किएकी पीडितको उजुरीको आधारमा जाहेरी दिएपश्चात मानव बेचबिखन अनुसन्धान ब्यूरो बबरमहलबाट खटिएको प्रहरीले उनलाई पक्राउ गरेको छ ।

राईले पीडितलाई सामाजिक सञ्जाल मेसेन्जरमार्फत कुराकानी गरी आफूले चिनियाँ नागरिकसँग विवाह गरेर चीन आएको १० वर्ष भयो, चीनमा धेरै राम्रो हुन्छ, तिमी पनि विवाह गरेर चीनमा आऊ, विवाह गर्ने केटासँग मेरो चिनजान छ, केटा धनी र राम्रो छ भनी प्रलोभन देखाई पीडितलाई काठमाण्डुको ठमेलमा चिनियाँ केटासँग भेट गराई २०८० फागुन १० गते भिजिट भिसामा चीन पुर्‍याई १ लाख ५० हजार रूपैयाँमा चिनियाँ नागरिकलाई बेचबिखन गरेको अनुसन्धानबाट खुल्न आएको छ ।

राईलाई जिल्ला अदालत काठमाण्डुबाट ७ दिन म्याद थप अनुमति लिई थप अनुसन्धान गरिरहेको प्रहरीले जनाएको छ ।