सुयोग बहुउद्देश्यीय सहकारी संस्थाका अध्यक्षसहित ३ जना पक्राउ

सुयोग बहुउद्देश्यीय सहकारी संस्थाका अध्यक्षसहित ३ जना पक्राउ


काठमाण्डु- ललितपुरको मानभवनस्थित सुयोग सुयोग बहुउद्देश्यीय सहकारी संस्था लिमिटेडका अध्यक्षसहित तीन जना पक्राउ परेका छन्। मंगलबार प्रहरीले उनीहरुलाई पक्राउ गरेको हो ।

पक्राउ पर्नेमा संस्थाका अध्यक्ष सुनिल महर्जन, उपाध्यक्ष मलिका महर्जन र सचिव अर्पण कावा रहेका छन् । उक्त सहकारी संस्थाले १२ सय जना बचतकर्ताको निक्षेप अपचलन गरी हालसम्म ७ करोड १३ लाख ८६ हजार रुपैयाँ ठगी गरेको जाहेरी प्राप्त भएको प्रहरीले जनाएको छ।

यस विषयमा गत वर्षको चैत ७ गते जिल्ला प्रहरी परिसर ललितपुरमा ठगी सम्बन्धी कसुरमा मुद्दा दर्ता भई अनुसन्धान सुरु भएको थियो। अनुसन्धानबाट अध्यक्ष सुनिल महर्जन २०६५ सालमा श्री नरसिंह सहकारीको सदस्यको रूपमा ४ वर्ष काम गरेको खुलेको थियो। उनी २०७० सालदेखि हालसम्म श्री सुयोग बहुउद्देश्यीय सहकारीको अध्यक्षको रूपमा कार्यरत रहेका थिए।

मुद्दा दर्ता भएसँगै अध्यक्ष तथा अन्य पदाधिकारीहरू फरार भएका थिए । काठमाण्डु उपत्यका अपराध अनुसन्धान कार्यालयबाट खटिएको टोलीले बारा, ललितपुर र भक्तपुरको विभिन्न स्थानहरूबाट उनीहरूलाई पक्राउ गरेको हो । तीनै जनालाई थप आवश्यक अनुसन्धान तथा कारबाहीको लागि जिल्ला प्रहरी परिसर, ललितपुर पठाइएको छ ।