कञ्चनपुर – नेत्र विक्रम चन्द ‘विप्लव’ नेतृत्व नेकपाका कञ्चनपुरका एक कार्यकर्ता पक्राउ परेका छन् । प्रहरीले नेकपा विप्लव निकट भीमदत्त नगरका इन्चार्ज रघुविर जोशीलाई सोमबार साँझ पक्राउ गरेको हो ।
भीमदत्त नगरका इन्चार्ज जोशीलाई भीमदत्त नगरपालिका–९ घर नजिकैबाटै पक्राउ गरेर जिल्ला प्रहरी कार्यालय कञ्चनपुर ल्याइएको प्रहरीले जनाएको छ ।
कञ्चनपुरका प्रहरी प्रवक्ता ज्ञान बहादुर विष्टले अनुसन्धानका लागि विप्लवका कार्यकर्ता जोशीलाई नियन्त्रणमा लिएको बताए । जोशीलाई प्रहरीले नेपाल भारतको ५ नम्बर सीमा पिलर नजिक क्षेत्रबाट पक्राउ गरेको जनाएको छ ।
प्रवक्ता विष्टका अनुसार उनीमाथि अनुसन्धान भईरहेको छ । २८ फागुनमा सरकारले नेकपा विप्लवमाथि प्रतिबन्ध लगाएसँगै विप्लवका नेता कार्यकर्ता पक्राउ पर्न थालेका छन् ।
नेकपा कञ्चनपुरले जोशीलाई छिमेकी गाउँलेको काममा रहेका बेला पक्राउ गरेको जनाएको छ । नेकपा विप्लव कञ्चनपुरका सचिव राजेन्द्र विष्ट (परिर्वतन)ले बिना कारण जोशीलाई पक्राउ गरेको बताए ।
नेकपा कञ्चनपुरले जोशीलाई रिहा गर्न माग गरेको छ ।
प्रतिक्रिया