लुटपाटमा संलग्न ७ जना पक्राउ

लुटपाटमा संलग्न ७ जना पक्राउ


धरान – सुनसरीको इटहरी उपमहानगरपालिका क्षेत्रमा लुटपाट गर्ने ७ जनालाई प्रहरीले पक्राउ गरेको छ ।

इटहरीको प्रमुख धार्मिकस्थलमा पर्यटकलाई आतंकित पारी लुटपाट गर्ने ७ जनाको समूहलाई शनिबार पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय सुनसरीका प्रहरी नायब उपरीक्षक नविनकृष्ण भण्डारीले जानकारी दिए ।

झापाको बाह्रदशी गाउँपालिका–३ राजगढका २२ वर्षीय अमन भगत र २३ वर्षीय निखिल भगतलाई तालतलैया घुम्न आएको समयमा बाटो छेकेर चक्कु देखाउँदै २ लाख लुटपाट गरी फरार भएका थिए । घटना सम्बन्धमा पीडितले ईलाका प्रहरी कार्यालय इटहरीमा निवेदन दिएपछि लुटपाटमा संलग्नलाई खोजी गरी पक्राउ गरिएको उपरीक्षक भण्डारीले बताए ।

प्रहरीका अनुसार रामधुनी नगरपालिका–३ को २२ वर्षीय अनिस कोइराला र १९ वर्षीय शुसन थापा पक्राउ परेका छन् । इटहरी उपमहानगरपालिका–४ को २४ वर्षीय विशाल तामाङ, १८ वर्षीय सुनिल बस्नेत र १८ वर्षीय निश्चल बस्नेत एवं सोही नगर वडा नम्बर ७ का १८ वर्षीय साकार भण्डारी तथा इटहरी उपमहानगरपालिका–४ का २४ वर्षीय विशाल तामाङ र वडा नम्बर १६ का १८ वर्षीय रिचन खत्री पक्राउ परेका छन् ।

उनीहरूको साथबाट ३ लाख २५५ रुपैयाँ नगदसहित चक्कु, ओकेटोके हेण्ड सेट र मोबाइल बरामद गरिएको उनले बताए । पक्राउ परेका सातै जनालाई सुनसरी जिल्ला अदालतमा पेश गरी ५ दिनको म्याद थप गरेर ईलाका प्रहरी कार्यालय इटहरीमा राखी थप अनुसन्धान थालिएको प्रहरीले जनाएको छ ।