भन्सार छलेर ल्याएको लत्ताकपडासहित २ जना भारतीय पक्राउ

भन्सार छलेर ल्याएको लत्ताकपडासहित २ जना भारतीय पक्राउ


बागमती – आलुको बोरामुनि लुकाइछिपाई भन्सार छलेर अवैध रूपमा ल्याउँदै गरेको ठूलो मूल्य बराबरको कपडासहित २ जना भारतीय नागरिकलाई मकवानपुर प्रहरीले पक्राउ गरेको छ ।

गोप्य सूचनाका आधारमा जिल्ला प्रहरी कार्यालयका मकवानपुरबाट खटिएको प्रहरी टोलीले हेटौंडा उपमहानगरपालिका–१५ रातोमाटेमा सुनसरीबाट हेटौंडा हुँदै काठमाण्डु जाँदै गरेको बीआर ०५ जिडी १३४३ नम्बरको भारतीय ट्रकमा लोड गरिएको १ करोड ३५ लाख मूल्य बराबरको अवैध कपडासहित २ जनालाई पक्राउ गरेको छ ।

पक्राउ पर्नेमा ट्रक चालक भारतको बिहार राज्य मोतिहारी जिल्ला तुकालिया पूर्वी चम्पारण सपही निवासी ३० वर्षीय जन्दार आलम र सहचालक सोही ठाउँका १९ वर्षीय मुना मियाँ रहेको प्रहरीले जनाएको छ ।

जाँचका क्रममा ट्रकमा ३४५ बोरा आलुको भन्सार बिल काटेर २६४ बोरा मात्र आलु राखी त्यसको भित्री भागमा ७४ वटा बोरामा करीब १ करोड ३५ लाख मूल्य बराबरको विभिन्न किसिमका लत्ताकपडा लोड गरेको अवैध रूपमा लैजाँदै गरेको अवस्थामा ट्रकसहित चालक र सहचालकलाई पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय मकवानपुरका प्रवक्ता प्रहरी नायब उपरीक्षक लक्ष्मी भण्डारीले जानकारी दिए ।

बरामद भएको सामान, ट्रक तथा चालक र सहचालकलाई थप अनुसन्धानका लागि राजस्व अनुसन्धान कार्यालय पथलैया बारामा पठाउने तयारी भइरहेको प्रहरी नायब उपरीक्षक भण्डारीले बताए ।