क्यानडा पठाइदिने भन्दै १८ लाख बढी ठगी गर्ने पक्राउ

क्यानडा पठाइदिने भन्दै १८ लाख बढी ठगी गर्ने पक्राउ


काठमाण्डु – वैदेशिक रोजगारका लागि क्यानडा पठाइदिने भन्दै १८ लाख ५३ हजार रुपैयाँ ठगी गरेको अभियोगमा प्रहरीले १ जनालाई पक्राउ गरी शुक्रबार सार्वजनिक गरेको छ ।

पक्राउ पर्नेमा गोरखाको आरुघाट गाउँपालिका–१० घर भई हाल काठमाण्डुको गोकर्णेश्वर नगरपालिका–१ सुन्दरीजल बस्ने ३४ वर्षीय रामहरि भण्डारी रहेका काठमाण्डु उपत्यका अपराध अनुसन्धान कार्यालय टेकुका सूचना अधिकारी एवं प्रहरी उपरीक्षक काजीकुमार आचार्यले जानकारी दिए ।

उनले भने, ‘आकर्षक तलबको प्रलोभनमा पारी क्यानडा लैजाने भन्दै २ जना पीडितलाई लामो समयसम्म झुक्यानमा राखेपश्चात विदेश नपठाइ सम्पर्कविहीन भएकोमा पीडितले दिएको उजुरीका आधारमा पक्राउ गरिएको हो ।’ निजलाई सुन्दरीजलबाट पक्राउ गरी थप अनुसन्धान तथा कारबाहीका लागि शुक्रबारै वैदेशिक रोजगार विभाग ताहाचल काठमाण्डु पठाइएको सूचना अधिकारी आचार्यले बताए ।

यसैगरी, प्रहरीले अवैध लागूऔषध खैरो हेरोइनसहित चन्द्रागिरि नगरपालिका–२ नागढुंगास्थित चेक प्वाइन्टबाट शुक्रबार ३ जनालाई पक्राउ गरी सार्वजनिक गरेको छ । पक्राउ पर्नेमा सिराहाको लाहान नगरपालिका–१७ बस्ने २२ वर्षीय शिवशंकर ठाकुर, २४ वर्षीय अर्जुनकुमार यादव तथा लहान नगरपालिका–४ स्थित बस्ने वर्ष २८ को सञ्जिवकुमार यादव रहेका जिल्ला प्रहरी परिसर काठमाण्डुका प्रवक्ता एवं प्रहरी उपरीक्षक नवराज अधिकारीले जानकारी दिए ।

उनले भने, ‘प्रहरी प्रभाग नागढुंगा तथा लागूऔषध नियन्त्रण ब्यूरो शाखा कार्यालय नागढुंगाबाट खटिएको संयुक्त टोलीले अवैध लागूऔषध खैरो हेरोइन जस्तो देखिने पदार्थ ३७ ग्रामसहित आज बिहान पक्राउ गरेको हो ।’

सप्तरीदेखि काठमाण्डुतर्फ आउँदै गरेको बा प्र ०३–००१ ख २७२८ नम्बरको बसलाई जाँच गर्ने क्रममा बसमा सवार निजहरूलाई अवैध लागूऔषधसहित पक्राउ गरिएको जिल्ला प्रहरी परिसर काठमाण्डुले जनाएको छ ।