अवैध लागूऔषधसहित विभिन्न स्थानबाट १२ जना पक्राउ

अवैध लागूऔषधसहित विभिन्न स्थानबाट १२ जना पक्राउ


काठमाण्डु – प्रहरीले देशका विभिन्न स्थानबाट अवैध लागूऔषधसहित १२ जनालाई पक्राउ गरेको छ ।

सुनसरीको धरान उपमहानगरपालिका–१५ मिलन चोक बस्ने २० वर्षीय आकाश साहलाई लागूऔषध ट्रामाडोल ४ हजार ८ सय क्याप्सुलसहित प्रहरीले पक्राउ गरेको छ । ईलाका प्रहरी कार्यालय धरानबाट खटिएको प्रहरी टोलीले उनको कोठाबाट लागूऔषध फेला पारी पक्राउ गरेको छ ।

मोरङको बेलबारी नगरपालिका–२ तिनघरे टोलबाट नियन्त्रित लागूऔषध ट्रामाडोल २४० ट्याब्लेट, डिकोलिक १२० ट्याब्लेट र ओबिन १२० ट्याब्लेटसहित २ जनालाई प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेहरूमा सुन्दरहरैचा नगरपालिका–११ बस्ने २० वर्षीय पुकार विक र बेलबारी नगरपालिका–२ बस्ने २३ वर्षीय सुरज राई रहेका छन् । ईलाका प्रहरी कार्यालय बेलबारीबाट खटिएको प्रहरी टोलीले उनीहरूलाई लागूऔषधसहित पक्राउ गरेको छ ।

झापाको मेचीनगर नगरपालिका–४ बाट अवैध लागूऔषध खैरो हेरोइन ५५ ग्रामसहित भारतको दार्जिलिङ बस्ने १९ वर्षीय सरोज माझी र झापाको शिवसताक्षी नगरपालिका–१ धरमपुर बस्ने २३ वर्षीय विशाल खड्कालाई प्रहरीले पक्राउ गरेको छ । प्रहरी चौकी बाहुनडाँगी समेतबाट खटिएको प्रहरी टोलीले भारतबाट नेपालतर्फ पैदल आउँदै गरेका उनीहरूलाई लागूपदार्थसहित पक्राउ गरेको छ ।

थप अनुसन्धानका क्रममा काठमाण्डु महानगरपालिका–५ बस्ने २५ वर्षीय गणेश थापाको समेत संलग्नता रहेको खुल्न आएपछि उनलाई झापाको मेचीनगर नगरपालिका–६ बाट प्रहरीले पक्राउ गरेको छ । प्रहरीले सरोज माझीले प्रयोग गरेको डब्लुबी ७४ बिके २४३८ नम्बरको स्कुटर समेत बरामद गरेको छ ।
कास्कीको पोखरा महानगरपालिका–१८ साराङकोटस्थित होटलबाट अवैध लागूऔषध गाँजाको धुलो करीब २ किलो ७०० ग्रामसहित २ जनालाई शनिबार दिउँसो प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेहरूमा होटल सञ्चालक पोखरा महानगरपालिका–१८ मिरूवा घर भएका ३५ वर्षीय मनिश श्रेष्ठ र म्याग्दी घर भएका २३ वर्षीय अजय पुन रहेका छन् ।

वडा प्रहरी कार्यालय बगरबाट खटिएको प्रहरी टोलीले होटल तलासी गर्दा गाँजा फेला पारी उनीहरूलाई पक्राउ गरेको छ ।

कैलालीको गोदावरी नगरपालिका–४ बास्कोटा बस्ने योगेश भट्ट समेत ४ जनालाई अवैध लागूऔषध खैरो हेरोइन करीब २१० मिलिग्रामसहित शनिबार दिउँसो प्रहरीले पक्राउ गरेको छ । जिल्ला प्रहरी कार्यालय कैलाली र ईलाका प्रहरी कार्यालय मालाखेतीबाट खटिएको प्रहरी टोलीले उनीहरूलाई लागूपदार्थसहित पक्राउ गरेको छ ।

बरामद लागूऔषध सम्बन्धमा आवश्यक अनुसन्धान गरिरहेको प्रहरीले जनाएको छ ।