किशोरीको हत्यामा संलग्न रहेको आरोपमा ५८ वर्षीय भण्डारी पक्राउ

किशोरीको हत्यामा संलग्न रहेको आरोपमा ५८ वर्षीय भण्डारी पक्राउ

प्रतिकात्मक तस्वीर

डडेल्धुरा – जिल्लाको पोखरामा १४ वर्षीया किशोरीको हत्यामा संलग्न रहेको आरोपमा ५८ वर्षीय टेकबहादुर भण्डारी पक्राउ परेका छन् ।

शनिबार डडेल्धुराको पोखरा बजारमा मृत फेला परेकी १४ वर्षीया आरती भट्टराईको हत्या आरोपमा स्टेसनरी व्यापारी भण्डारी पक्राउ परेका जिल्ला प्रहरी कार्यालय डडेल्धुराले जनाएको छ ।

डडेल्धुराका प्रहरी प्रमुख तथा प्रहरी नायब उपरीक्षक (डीएसपी) सुगन्ध श्रेष्ठका अनुसार भण्डारीले भट्टराईको हत्या गरेको स्वीकार गरेका छन् । घटनास्थल नजिकै भण्डारीको पोखरा बजारमा भण्डारी पुस्तक एण्ड स्टेसनरी पसल छ । ‘पसलभित्र आवेगमा आएर भट्टराईको घाँटी थिची हत्या गरेको भण्डारीले स्वीकार गरेका छन्,’ श्रेष्ठले भने । स्थानीय वासिन्दाले बलात्कारपछि हत्या भएको जिकिर गर्दै आएका छन् ।

डीएसपी श्रेष्ठले पोष्टमार्टम रिपोर्ट आइनसकेको र त्यसबारे अहिल्यै केही भन्न नसकिने बताए । ‘जबरजस्तीकरणी गर्न खोज्दा किशोरीले अस्वीकार गरेपछि आवेगमा आएको पनि हुनसक्छ । तर त्यो अहिले नै केही खुलेको छैन,’ उनले भने ।

किशोरी भट्टराई २५ गते साँझ ४ बजे घरबाट धान कुटाउनका लागि बजारनजिकै मिलका लागि हिँडेर बेपत्ता भएकी थिइन् । उनले भने, ‘भण्डारीसँग ती किशोरीको चिनजान १ वर्ष पहिलेदेखि थियो । पसलमा कुराकानीकै क्रममा आवेशमा आएका भण्डारीले पसलभित्रै किशोरीको हत्या गरेको बताएका छन् । हत्यापछि भण्डारीले प्लास्टिकको बोरामा किशोरीको शव हालेको स्वीकार गरेका छन् ।’