जुवातास खेलिरहेको अवस्थामा २१ जना पक्राउ

जुवातास खेलिरहेको अवस्थामा २१ जना पक्राउ


काठमाण्डु – देशका विभिन्न स्थानमा जुवातास खेलिरहेको अवस्थामा प्रहरीले २१ जनालाई पक्राउ गरेको छ ।

महोत्तरीको बर्दिबास नगरपालिका–१ भप्सी बस्ने दिलिप पाख्रिनको घरमा जुवातास खेलिरहेको अवस्थामा तामाङटोल बस्ने २१ वर्षीय कर्म तामाङ समेत ८ जनालाई प्रहरीले पक्राउ गरेको छ ।

ईलाका प्रहरी कार्यालय बर्दिबासबाट खटिएको प्रहरी टोलीले उनीहरूलाई नगद १ लाख ३३ हजार ४३० रूपैयाँ, ११ बुक तास र ९ थान मोबाइलसहित पक्राउ गरेको छ ।

नवलपरासी पूर्वको कावासोती नगरपालिका–२ हिमाल चोक बस्ने ४० वर्षीय उज्वल मल्लको घरमा जुवातास खेलिरहेको अवस्थामा उज्वल समेत ५ जनालाई आईतबार राति प्रहरीले पक्राउ गरेको छ । जिल्ला प्रहरी कार्यालय नवलपरासी पूर्वबाट खटिएको प्रहरी टोलीले उनीहरूलाई नगद १ लाख ४ हजार ५९५ रूपैयाँ र ४ बुक ताससहित पक्राउ गरेको छ ।

दाङको घोराही उपमहानगरपालिका–१३ डुम्मार गाउँ बस्ने १९ वर्षीय भुपेन्द्र वलीको घरमा जुवातास खेलिरहेको अवस्थामा भुपेन्द्र समेत ८ जनालाई आईतबार राति प्रहरीले पक्राउ गरेको छ । वडा प्रहरी कार्यालय घोराहीबाट खटिएको प्रहरी टोलीले उनीहरूलाई नगद ३४ हजार रूपैयाँ र ९ गड्डी ताससहित पक्राउ गरेको छ ।

जुवातास सम्बन्धमा आवश्यक अनुसन्धान गरिरहेको प्रहरीले जनाएको छ ।