काठमाण्डु – क्रोएसियाको प्रहरीले नेपालीसहित विदेशी कामदारमाथि आक्रमण गरेको आरोपमा ४ जनालाई पक्राउ गरेको छ ।
तटीय शहर स्प्लिटमा खाना डेलिभरी गर्ने १ कामदारमाथि शारीरिक आक्रमण गरेको आशंकामा पक्राउ परेका चारै जनामाथि घृणाजन्य अपराधको आरोपमा अनुसन्धान भइरहेको प्रहरीले शनिबार जनाएको छ ।
शुक्रबार राति भएको आक्रमणमा ४१ वर्षीय १ विदेशी नागरिक र १ आक्रमणकारी सामान्य घाइते भएका प्रहरीलाई उदृत गर्दै अन्तर्राष्ट्रिय सञ्चारमाध्यमले जनाएका छन् ।
आक्रमणलगत्तै स्प्लिटमा पनि विदेशी खाना डेलिभरी गर्ने कामदारलाई लक्षित गरी अन्य ३ वटा घटना भएका थिए, जसमा १ नेपाली गम्भीर घाइते भएका थिए । अर्का १ जना भारतीय नागरिक थिए भने अन्य २ जनाको राष्ट्रियता खुलाइएको छैन । प्रहरीले तीनै आक्रमणका दोषीको खोजी कार्य जारी राखेको जनाएको छ ।
व्यापक आप्रवासन र घट्दो जनसंख्याको सामना गरिरहेको ३८ लाख जनसंख्या भएको युरोपियन युनियन (ईयू) सदस्य राष्ट्र क्रोएसियाले दीर्घकालीन श्रम अभावबाट पार पाउन संघर्ष गरिरहेको छ ।
परम्परागत रूपमा बाल्कन छिमेकीहरूबाट मौसमी कामदारहरूमा निर्भर क्रोएशियाले एड्रियाटिक तटमा निर्माण र यसको प्रमुख पर्यटन क्षेत्रमा विशेषगरी दशौं हजार रोजगारीका लागि लागि नेपाल, भारत, फिलिपिन्स र अन्य ठाउँका कामदारहरूमा भरोसा गरिरहेको छ ।
सन् २०२३ मा क्रोएसियाले ईयू बाहिरका करीब १ लाख २० हजार नागरिकलाई श्रम अनुमति प्रदान गरेको थियो । यो वर्ष श्रमिकको आँकडा अझ बढी हुने बताइएको छ ।
सरकारले नोभेम्बरसम्म लगभग १ लाख ५० हजार ईयूभन्दा बाहिरका नागरिकहरूका लागि वर्क परमिट जारी गरेको थियो ।
राजधानी जाग्रेबका प्रहरीले यस वर्षको सुरुमा विदेशी कामदारहरू विशेषगरी खाद्यान्न डेलिभरी गर्नेहरूमाथि आक्रमणको संख्या बढ्दै गएको बताएका थिए ।
क्रोएसियाको कूल जनसंख्याको ९० प्रतिशतभन्दा बढी क्रोएट्स समुदायले ओगटेको छ, जसमध्ये करीब ८० प्रतिशत रोमन क्याथोलिक छन् ।
प्रतिक्रिया