पैसा कमाउन युवतीको आपराधिक धन्दा : स्वास्थ्यकर्मीलाई बलात्कारको फन्दा !

पैसा कमाउन युवतीको आपराधिक धन्दा : स्वास्थ्यकर्मीलाई बलात्कारको फन्दा !


काठमाण्डु – भक्तपुरमा मेडिकल सञ्चालक स्वास्थ्यकर्मीलाई उपचारका लागि घरमा बोलाएर बलात्कारमा फसाइदिने धम्की दिई रकम असुल्ने ३ जनालाई प्रहरीले पक्राउ गरेको छ ।

आपराधिक लाभ लिने उद्देश्यले योजना बनाई स्वास्थ्यकर्मीलाई फसाउन खोज्ने ३ जनालाई प्रहरीले पक्राउ गरेको हो ।

पक्राउ पर्नेमा ईलामको दानवारी गाविस–९ परिवर्तित माई नगरपालिका–१ घर भई भक्तपुरको मध्यपुर ठिमी नगरपालिका–५ नयाँठिमी बस्ने २५ वर्षीय समृद्धि मगर, काभ्रेको भुम्लु गाउँपालिका–४ कोशीपारी घर भई काठमाण्डुको काठमाण्डु महानगरपालिका–१५ स्वयम्भू बस्ने ३० वर्षीय दिपेन्द्र दर्जी र काभ्रेको भुम्लु गाउँपालिका–४ कोशीपारी घर भई भक्तपुरको मध्यपुरठिमी नगरपालिका–५ नयाँठिमी बस्ने २६ वर्षीया वर्षा दर्जी छन् ।

पक्राउ परेकी वर्षाले घाउ ड्रेसिङको लागि अनलाइनबाट सम्पर्क गरी आफू एक्लै भएको अवस्थामा स्वास्थ्यकर्मीलाई कोठामा बोलाई शारीरिक सम्पर्क भएको आरोप लगाई जबरजस्ती करणी मुद्दामा फसाइदिन्छु भनी डरत्रास देखाई १८ लाख रुपैयाँबाट ८ लाखमा कुरा मिलाएको प्रहरीले जनाएको छ ।

पक्राउ गरेका तीनै जनालाई आपराधिक लाभ मुद्दामा थप अनुसन्धानका लागि जिल्ला प्रहरी परिसर भक्तपुर पठाइएको छ ।