विदेश पठाउन २७ लाख ठगी गरेको आरोपमा २ जना पक्राउ

विदेश पठाउन २७ लाख ठगी गरेको आरोपमा २ जना पक्राउ


काठमाण्डु – अमेरिका र माल्टा पठाउने भन्दै २७ लाख रूपैयाँ ठगी गरेको आरोपमा प्रहरीले २ जनालाई पक्राउ गरेको छ ।

पक्राउ पर्नेमा धनकुटाको पाख्रिवास नगरपालिका–८ घर भई हाल काठमाण्डुको गोकर्णेश्वर–९ जोरपाटी बस्ने ४९ वर्षीय पूर्णबहादुर गिरी र खोटाङको दिक्तेल रूपाकोट मझुवागढी नगरपालिका–६ घर भई हाल भक्तपुरको सूर्यविनायक नगरपालिका–५ सल्लाघारी बस्ने २० वर्षीय मिसन गुरुङ छन् ।

पक्राउ परेकामध्ये गिरीले अमेरिका पठाउने भन्दै ३ जना व्यक्तिबाट २४ लाख रूपैयाँ ठगी गरेको प्रहरीले जनाएको छ । प्रहरीको काठमाण्डु उपत्यका अपराध अनुसन्धान कार्यालयको टोलीले मंगलबार टेकुबाट उनलाई पक्राउ गरेको छ ।

अपराध अनुसन्धान कार्यालयका एसपी काजीकुमार आचार्यका अनुसार गुरुङले माल्टा पठाउने भन्दै १ जना व्यक्तिबाट ३ लाख ५ हजार रूपैयाँ ठगी गरेका छन् । उनलाई पनि मंगलबार टेकुबाटै पक्राउ गरिएको छ ।

गिरी र गुरुङले बेरोजगार युवायुवतीलाई आकर्षक तलबको प्रलोभनमा पारेर ती देश पठाउने भनेर रकम असूल गरेका थिए तर पीडितहरूलाई लामो समयसम्म झुक्याएर सम्पर्क भएपछि प्रहरीमा जाहेरी परेको थियो ।

पक्राउ परेका दुवै जनालाई थप अनुसन्धान तथा कारबाहीका लागि वैदेशिक रोजगार विभाग ताहाचल पठाइएको एसपी आचार्यले जानकारी दिए ।