लागूऔषधको विकृति देशभर भयावह ! छुट्टाछुट्टै स्थानबाट १९ जना पक्राउ

लागूऔषधको विकृति देशभर भयावह ! छुट्टाछुट्टै स्थानबाट १९ जना पक्राउ


काठमाण्डु – पछिल्लो समय नेपालमा लागूऔषधको विकृति भयावह हुँदै गएको छ ।

प्रहरी प्रधान कार्यालयका अनुसार देशभर छुट्टाछुट्टै स्थानबाट अवैध लागूऔषधसहित १९ जना पक्राउ परेका छन् ।

कैलालीको गोदावरी नगरपालिका–२ अत्तरियाबाट अवैध लागूऔषध खैरो हेरोइन १ ग्राम ६६० मिलिग्रामसहित चुरे गाउँपालिका–५ बस्ने २४ वर्षीय यज्ञप्रसाद कँडेललाई प्रहरीले पक्राउ गरेको छ ।

ईलाका प्रहरी कार्यालय मालाखेतीबाट खटिएको प्रहरी टोलीले उनलाई लागूपदार्थसहित पक्राउ गरेको छ ।

कैलालीको धनगढी उपमहानगरपालिका–२ मिलनचोकबाट अवैध लागूऔषध खैरो हेरोइन ६० मिलिग्रामसहित सोही ठाउँ बस्ने २५ वर्षीय नरेन्द्र बिष्टलाई प्रहरीले पक्राउ गरेको छ । जिल्ला प्रहरी कार्यालय कैलालीबाट खटिएको प्रहरीले उनलाई लागूपदार्थसहित पक्राउ गरेको थियो ।

महोत्तरीको सम्सी गाउँपालिका–१ स्थित मर्धटोल जाने बाटोबाट अवैध लागूऔषध गाँजा करीब १० किलोग्रामसहित सोही ठाउँ बस्ने १६ वर्षीय किशोरलाई प्रहरीले पक्राउ गरेको छ । अस्थायी प्रहरी पोष्ट पर्सादेवाडबाट खटिएको प्रहरी टोलीले उनलाई गाँजासहित पक्राउ गरेको छ ।

कास्कीको पोखरा महानगरपालिका–२ धारापानी बस्ने २१ वर्षीय अतित थापा मगरलाई नियन्त्रित लागूऔषध फेनारगन ५ पिस तथा ५ एम्पुल, ब्रुफिन ५ पिस र ३०० ग्राम गाँजाको धुलोसहित शुक्रबार दिउँसो प्रहरीले पक्राउ गरेको छ । लागूऔषध नियन्त्रण ब्यूरो पोखरा र वडा प्रहरी कार्यालय बगरबाट खटिएको संयुक्त टोलीले उनको घर तलासी गर्दा लागूऔषध फेला पारी पक्राउ गरेको छ ।

सुनसरीको धरान उपमहानगरपालिका–८ भोटेपुल बस्ने २६ वर्षीय महेश राई र उनकै भाइ २३ वर्षीय मनिस राईलाई नियन्त्रित लागूऔषध ट्रामाडोल २० हजार क्याप्सुलसहित प्रहरीले पक्राउ गरेको छ । ईलाका प्रहरी कार्यालय धरानबाट खटिएको प्रहरी टोलीले महेशको घर तलासी गर्दा लागूऔषध फेला पारी दुवै जनालाई पक्राउ गरेको छ ।

सुनसरीको बराहक्षेत्र नगरपालिका–५ अमहा–सिमसारस्थित सडकबाट नियन्त्रित लागूऔषध ट्रामाडोल १५८ पिस, स्पास्पेन ५८ पिस र स्पासरेस्ट १०० पिससहित २ जनालाई शुक्रबार दिउँसो प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेहरूमा रामधुनी नगरपालिका–७ बस्ने २१ वर्षीय अभिषेक चौधरी र २१ वर्षीय सन्दिप चौधरी रहेका छन् । प्रहरी चौकी भरौलबाट खटिएको प्रहरी टोलीले सुनसरी पुलबाट अमहा सिमसारतर्फ जाँदै गरेको को१०प १२४६ नम्बरको मोटरसाइकलमा सवार उनीहरूलाई लागूऔषधसहित पक्राउ गरेको छ ।

सुनसरीका धरान उपमहानगरपालिका–१६ नौलो बस्ती बस्ने ३२ वर्षीय रूबिन खड्का र २२ वर्षीय साहिल मगरलाई नियन्त्रित लागूऔषधसहित प्रहरीले पक्राउ गरेको छ । अस्थायी प्रहरी पोष्ट जोरसखुवाबाट खटिएको प्रहरीले रूबिनलाई ट्रामाडोल १२० क्याप्सुल र स्पास्पेन १२० ट्याब्लेट तथा साहिललाई ट्रामाडोल ८० क्याप्सुल र स्पास्पेन ७० ट्याब्लेटसहित पक्राउ गरेको छ ।

सुनसरीको देवानगञ्ज गाउँपालिका–७ बाट अवैध लागूऔषध गाँजा करिब २० किलोग्राम सहित २ जनालाई शनिबार बिहान प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेहरूमा देवानगंग गाउँपालिका–२ बस्ने २४ वर्षीय अवास अंसारी र २६ वर्षीय रिजुवान अंसारी रहेका छन् । ईलाका प्रहरी कार्यालय हरिनगराबाट खटिएको प्रहरीले बिआर ८० एबि ७४३८ नम्बरको मोटरसाइकलमा सवार उनीहरूलाई गाँजासहित पक्राउ गरेको छ ।

मकवानपुरको हेटौंडा उपमहानगरपालिका–१५ रातोमाटेबाट अवैध लागूऔषध ब्राउनसुगर जस्तो देखिने पदार्थ करिब ५ ग्राम सहित २ जनालाई शुक्रबार राति प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेहरूमा हेटौंडा उपमहानगरपालिका–१ चाईनाक्वाटर बस्ने २७ वर्षीय सनिप भोम्जन र सोही उपमहानगरपालिका–२ बस्ने २१ वर्षीय बिशाल क्षेत्री रहेका छन् । प्रहरी चौकी रातोमाटेबाट खटिएको प्रहरीले पथलैयाबाट हेटौंडातर्फ जाँदै गरेको ना३५प ५८११ नम्बरको मोटरसाइकलमा सवार उनीहरूलाई लागूपदार्थसहित पक्राउ गरेको छ ।

बाँकेको नेपालगञ्ज उपमहानगरपालिका–२ मकालु होटल नजिकबाट नियन्त्रित लागूऔषध ट्रामाडोल ८९ ट्याब्लेट र नाईट्राजेपाम ८ ट्याब्लेट सहित ३ जनालाई शनिबार बिहान प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेहरूमा दाङ शान्तिनगर गाउँपालिका–४ जुम्लेकुला बस्ने २२ वर्षीय अजिब ध्वोज खत्री, २३ वर्षीय दिपेन्द्र खत्री र बाँके राप्ती सोनारी गाउँपालिका–६ अगैया बस्ने २३ वर्षीय रमेश थापा रहेका छन् । अस्थायी प्रहरी पोष्ट बसपार्कबाट खटिएको प्रहरीले उनीहरूलाई लागूऔषधसहित पक्राउ गरेको हो ।

बाँकेको नेपालगञ्ज उपमहानगरपालिका–६ फुल्टेक्राबाट अवैध लागूऔषध ब्राउनसुगर २५० मिलिग्राम सहित २ जनालाई शनिबार बिहान प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेहरूमा सोही ठाउँ बस्ने ३० वर्षीय पेशकर खटिक र सोही उपमहानगरपालिका–४ बसपार्क बस्ने ३० वर्षीय सुरेन्द्र लामा रहेका छन् । वडा प्रहरी कार्यालय नेपालगंजबाट खटिएको प्रहरीले उनीहरूलाई लागूपदार्थसहित पक्राउ गरिएको छ ।

लागूऔषध सम्बन्धमा आवश्यक अनुसन्धान गरिरहेको प्रहरीले जनाएको छ ।