विद्यालयमा इसाई धर्म प्रचार गर्ने पास्टर पक्राउ

विद्यालयमा इसाई धर्म प्रचार गर्ने पास्टर पक्राउ


टीकापुर – कैलालीको लम्कीचुहा नगरपालिकाका विभिन्न विद्यालयमा गएर विद्यार्थीलाई इसाई धर्मबारे प्रवचन दिने पास्टर पक्राउ परेका छन् ।

जिल्ला प्रहरी कार्यालय कैलालीका अनुसार लम्की सामुदायिक चर्चका पास्टर जन्मजय भट्टराई विभिन्न विद्यालयमा गएर विद्यार्थीलाई इसाई धर्मको प्रचार गरेको आरोपमा पक्राउ गरिएको छ ।

पास्टर भट्टराईले नगरपालिका–५ स्थित जनप्रभात माध्यमिक विद्यालय, १ नम्बर वडाको सहिद स्मृति माध्यमिक विद्यालय र जानकी आधारभूत विद्यालयमा क्रिसमसको उपहार स्वरूप झोला, चकलेट बाँडेर विद्यार्थीलाई धर्मबारे प्रवचन दिएका थिए । उनले सामाजिक सञ्जाल फेसबूकमै विद्यालयमा पुगेर झोला, चकलेट वितरण गरेका फोटोहरू समेत सार्वजनिक गरेका थिए ।

सहिद स्मृति माध्यमिक विद्यालयमा विद्यार्थीहरूलाई विद्यालय परिसरमा लाइन लगाएर इसाई धर्म सम्बन्धी प्रवचन दिइरहेका भट्टराईको भिडियो सामाजिक सञ्जालहरूमा भाइरल भएपछि उनको आलोचना भएको थियो ।