जबरजस्ती करणी गरेको अभियोगमा ४ जना पक्राउ

जबरजस्ती करणी गरेको अभियोगमा ४ जना पक्राउ


काठमाण्डु – जबरजस्ती करणी गरेको अभियोगमा प्रहरीले मोरङ र प्युठानबाट ४ जनालाई पक्राउ गरेको छ ।

मोरङमा २३ वर्षीया महिलालाई जबरजस्ती करणी गरेको घटनामा संलग्न रहेको अभियोगमा ३ जनालाई प्रहरीले पक्राउ गरेको छ ।

पक्राउ पर्नेहरूमा कटहरी गाउँपालिका–२ बस्ने १९ वर्षीय मो. रमजान, सोही ठाउँ बस्ने १९ वर्षीय सोनु कुमार साह र भारत अररीया कुशाकट्टा बस्ने १९ वर्षीय मो.गुल्जार रहेका छन् । कटहरी गाउँपालिका–२ कदमगाछीस्थित बाँसघारीमा ती महिलालाई बेहोस अवस्थामा फेला परेको भन्ने खबर प्राप्त हुनासाथ प्रहरी चौकी कटहरीबाट खटिएको प्रहरीले उनलाई तत्काल उपचारको लागि कोशी अस्पताल विराटनगर पठाएको थियो ।

जिल्ला प्रहरी कार्यालय मोरङबाट खटिएको प्रहरी टोलीले थप अनुसन्धान एवं सोधपुछ गर्दा रमजान, सोनु कुमार र गुल्जारले ती महिलालाई सिटी सफारीमा राखी कटहरी गाउँपालिका–२ कदमगाछीस्थित बाँसघारीमा लगेर ३ जनामध्ये रमजानले जबरजस्ती करणी गरेको तथा अन्य २ जनाले पीडितलाई समाउने कार्यमा सघाएको भन्ने खुल्न आएपश्चात तीनै जनालाई मोरङको विभिन्न स्थानबाट प्रहरीले पक्राउ गरेको छ ।

प्युठानमा १६ वर्षीया किशोरीलाई जबरजस्ती करणी गरेको अभियोगमा नौबहिनी गाउँपालिका–१ खारखोला बस्ने २५ वर्षीय ज्ञानेन्द्र राना मगरलाई प्रहरीले पक्राउ गरेको छ ।

मगरले ती किशोरीलाई पुस १ गते जबरजस्ती करणी गरेको भन्ने उजुरीको आधारमा प्रहरी चौकी स्याउलिवाङबाट खटिएको प्रहरीले उनलाई पक्राउ गरेको छ । घटना सम्बन्धमा आवश्यक अनुसन्धान गरिरहेको प्रहरीले जनाएको छ ।