काठमाण्डु – वैदेशिक रोजगारीमा आकर्षक तलबको प्रलोभनमा पारी विभिन्न देश पठाइदिन्छु भन्दै रकम ठगी गरेको अभियोगमा २ जनालाई प्रहरीले पक्राउ गरेको छ ।
पक्राउ पर्नेहरूमा काभ्रेपलाञ्चोकको पनौती नगरपालिका–११ घर भई काठमाण्डुको बुद्धनगर बस्ने ७१ वर्षीय गणेश बहादुर थापा र नवलपरासी पूर्व बौदीकाली गाउँपालिका–१ घर भई काठमाण्डुको बानियाटार बस्ने ४२ वर्षीया शान्ति भण्डारी छन् ।
पक्राउमध्ये गणेश बहादुरले सर्बिया पठाइदिन्छु भन्दै १ जना पीडितबाट ६ लाख ५० हजार रूपैयाँ र शान्तिले हंगेरी पठाइदिन्छु भन्दै २ जना पीडितहरूबाट १७ लाख ५० हजार रूपैयाँ लिई सम्पर्कविहीन भएको भन्ने पीडितहरूको उजुरीको आधारमा काठमाण्डु उपत्यका अपराध अनुसन्धान कार्यालय टेकुबाट खटिएको प्रहरी टोलीले गणेश बहादुरलाई काठमाण्डुको सिनामंगलबाट सोमबार र शान्तिलाई काठमाण्डुको बानियाटारबाट मंगलबार पक्राउ गरेको हो ।
उनीहरूलाई आवश्यक अनुसन्धान तथा कारवाहीका लागि वैदेशिक रोजगार विभाग ताहाचल काठमाण्डु पठाइएको छ ।
प्रतिक्रिया