अवैध लागूऔषधसहित ८ जना पक्राउ

अवैध लागूऔषधसहित ८ जना पक्राउ

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाण्डु – प्रहरीले देशका विभिन्न स्थानबाट अवैध लागूऔषधसहित ८ जनालाई पक्राउ गरेको छ ।

काठमाण्डुको चन्द्रागिरी नगरपालिका–२ नागढुङ्गाबाट अवैध लागूऔषध खैरो हेरोइन करीब ६ ग्रामसहित २ जनालाई बिहीबार बिहान प्रहरीले पक्राउ गरेको छ ।

पक्राउ पर्नेहरूमा सिराहा औरही गाउँपालिका–२ बस्ने २३ वर्षीय सितेस कुमार महतो र २० वर्षीय बिष्णु कुमार कामत रहेका छन् । प्रहरी प्रभाग नागढुङ्गा र लागूऔषध नियन्त्रण ब्यूरो शाखा कार्यालय नागढुङ्गाबाट खटिएको प्रहरी टोलीले सिराहाबाट काठमाण्डुतर्फ आउँदै गरेको बा प्र ०३–००१ ख २५०८ नम्बरको बसमा सवार उनीहरूलाई लागूपदार्थसहित पक्राउ गरेको छ ।

झापाको मेचीनगर नगरपालिका–१२ कालिझोडाबाट अवैध लागूऔषध ब्राउनसुगर जस्तो देखिने पदार्थ २ ग्राम २५० मिलिग्राम, नगद ३ हजार २६० रूपैयाँ र मोबाइल २ थानसहित ३ जनालाई बिहीबार बिहान प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेहरूमा सोही ठाउँ बस्ने २७ वर्षीय संजय ठटाल, अर्जुनधारा नगरपालिका–१० बस्ने २८ वर्षीय सनम भन्ने साईमन लिम्बु र १८ वर्षीय किशोर रहेका छन् ।

प्रहरी चौकी चारआलीबाट खटिएको प्रहरी टोलीले संजयको घर तलासी गर्दा लागूपदार्थ फेला पारी तीनै जनालाई पक्राउ गरेको छ ।

रूपन्देहीको बुटवल उपमहानगरपालिका–१० चौराहाबाट नियन्त्रित लागूऔषध फेनारगन ५० एम्पुल, डाइजेपाम ५० एम्पुल र नोर्फिन ५० एम्पुलसहित २ जनालाई बिहीबार बिहान प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेहरूमा बुटवल उपमहानगरपालिका–१३ बेलबास बस्ने २३ वर्षीय सुदिप गुरूङ र २७ वर्षीय किशोर गुरूङ रहेका छन् ।

लागूऔषध नियन्त्रण ब्यूरो शाखा कार्यालय भैरहवा र ईलाका प्रहरी कार्यालय बुटवलबाट खटिएको प्रहरीले उनीहरूलाई उक्त लागूऔषधसहित पक्राउ गरेको छ ।

कैलालीको कैलारी गाउँपालिका–४ भितरिया बस्ने २४ वर्षीय अर्जुन परियारलाई अवैध लागूऔषध खैरो हेरोइन ९० मिलिग्रामसहित बिहीबार दिउँसो प्रहरीले पक्राउ गरेको छ । इलाका प्रहरी कार्यालय हसुलियाबाट खटिएको प्रहरी टोलीले उनलाई लागूपदार्थसहित पक्राउ गरेको छ ।

लागूऔषध सम्बन्धमा आवश्यक अनुसन्धान गरिरहेको प्रहरीले जनाएको छ ।