काठमाण्डु – सिरहाको औरही गाउँपालिका–५ मा महायज्ञका नाममा जातीय विभेद गरिएको घटनामा पक्राउ परेका गाउँपालिका अध्यक्ष शिवजी यादव र पूर्ववडाध्यक्ष दिलीप यादवलाई ५ दिन थुनामा राखेर अनुसन्धान गर्न अदालतले आदेश दिएको छ ।
जातीय भेदभाव तथा छुवाछुत सम्बन्धी कसूरमा पक्राउ परेका दुवै जनालाई थप अनुसन्धानका लागि आईतबार सिरहा जिल्ला अदालतले ५ दिन थुनामा राख्न अनुमति दिएको हो ।
शुक्रबार पक्राउ परेका दुवै जनालाई आईतबार जिल्ला अदालतबाट आवश्यक अनुसन्धानका लागि थुनामा राख्ने अनुमति प्राप्त भएको जिल्ला प्रहरी कार्यालयका प्रमुख तथा प्रहरी उपरीक्षक रमेश पण्डितले जानकारी दिए ।
चैत १७ गतेदेखि आयोजना हुने भनिएको महायज्ञका नाममा गत फागुन १० गते अछुत भन्दै महायज्ञस्थलमा रहेको स्थानीय दीपक मल्लिकको घर भत्काइएको थियो । गाउँपालिका अध्यक्ष, पूर्ववडाध्यक्ष र बजरङ्गी बाबाले डोजर लगाएर भत्काइदिएको भनेर घटना सार्वजनिक भएको थियो । घर भत्काएपछि घरले चर्चेको जमिनको माटो समेत ताछेर फालेपछि जातीय विभेद गरेको भन्दै विरोध भएको थियो ।
घटनामा संवेदनशील नभएको भन्दै गृह मन्त्रालयले प्रमुख जिल्ला अधिकारी (सीडीओ) वासुदेव दाहाललाई शुक्रबार नै मन्त्रालय तानेको छ । राष्ट्रिय मानवअधिकार आयोग तथा राष्ट्रिय दलित आयोगले घटनाको अनुसन्धान अगाडि बढाएका छन् । घटनामा संलग्न बजरङ्गी बाबा भने फरार रहेका छन् ।
प्रतिक्रिया