ललितपुर – बागमती गाउँपालिका–३ भट्टेडाँडा छपेलीस्थित कान्ती लोकपथ सडकबाट नियन्त्रित लागूऔषध ट्रामाडोल ९४ हजार ८० ट्याब्लेटसहित ४ जनालाई प्रहरीले पक्राउ गरेको छ ।
पक्राउ पर्नेहरूमा भारतको बिहार प्रान्त पूर्वी चम्पारण मोतिहारी रक्सौल नगर–५ पछियाटोल घर भएका २२ वर्षीय मोहम्मद उमर सिद्दिकी, भारत बिहार प्रान्त पूर्वी चम्पारण मोतिहारी टुमरिया ग्राम पञ्चायत–५ घर बताउने २० वर्षीय समिर आलम, भारत बिहार प्रान्त पूर्वी चम्पारण मोतिहारी राजाबजार नगर–३३ घर बताउने ३३ वर्षीय मोहम्मद मुन्ना अन्सारी र भारत बिहार प्रान्त पूर्वी चम्पारण मोतिहारी पलानवा ग्राम पञ्चायत–९ घर बताउने ४५ वर्षीय नोर्जान खातुन रहेका छन् ।
प्रहरी चौकी भट्टेडाँडाबाट खटिएको प्रहरीले वीरगञ्जबाट काठमाण्डुतर्फ आउँदै गरेको बीआर ०५ पीए ०४२१ नम्बरको एम्बुलेन्सलाई जाँच गर्ने क्रममा लागूऔषध फेला पारी एम्बुलेन्समा सवार समिर आलम, मोहम्मद मुन्ना अन्सारी र नोर्जान खातुनलाई पक्राउ गरेको थियो भने तत्काल फरार चालक मोहम्मद उमर सिद्दिकीलाई बागमती गाउँपालिका–३ सार्वजनिक सडकबाट शनिबार बिहान पक्राउ गरेको छ ।
लागूऔषध सम्बन्धमा आवश्यक अनुसन्धान गरिरहेको प्रहरीले जनाएको छ ।
प्रतिक्रिया