काठमाण्डु – वृहत्तर जनकपुर क्षेत्र विकास परिषद्का पूर्वनिर्देशक बलराम ठाकुरसहित चार कर्मचारीविरुद्ध धनुषा जिल्ला अदालतले पक्राउ पुर्जी जारी गरेको छ ।
गाडी भाडामा लिएको भनेर नक्कली कागजात तयार पारी ३० लाख रूपैयाँ अनियमितता गरेको आरोपमा उनीहरूविरुद्ध पक्राउ अनुमति लिइएको नुषाका प्रहरी प्रवक्ता डीएसपी बरुणबहादुर सिंहले जानकारी दिए ।
प्रहरीले पूर्वनिर्देशक ठाकुर, लेखापाल सावित्री गिरी, प्रशासन प्रमुख जितेन्द्रकुमार यादव र जिन्सी शाखा प्रमुख मदनकुमार चौधरीविरुद्ध सरकारी छाप र हस्ताक्षर कीर्ते मुद्दामा पक्राउ अनुमति लिएको हो ।
प्रहरीका अनुसार गाडी भाडावापत परिषद्का पूर्वनिर्देशक ठाकुरले कर्मचारीहरूकै मिलोमतोमा २०७६ असार ३१ मा किर्ते सम्झौता पत्र र कार्यदेश तयार गरी ३० लाख रूपैयाँ महोत्तरीको एकडारा गाउँपालिकाका मुकेश यादवको नाममा निकासा गरेका थिए । मुकेशले आफ्नो नाममा रकम निकासा भएकोबारे अनभिज्ञता जनाएपछि घोटाला भएको आशंकामा छानबिन सुरु भएको थियो ।
परिषद्का पूर्वनिर्देशक ठाकुरले मुकेशको नाममा रहेको बा. १६ च. ६४७ नम्बरको जीप भाडामा लिएको कागजात तयार पारेर रकम निकासा गरे पनि मुकेशले उक्त नम्बरको गाडी आफ्नो नभएको बताएपछि अनुसन्धानका लागि पक्राउ गर्न अनुमति लिइएको प्रहरीले जनाएको छ ।
प्रतिक्रिया