काठमाण्डु- देशको अर्थतन्त्र पछिल्लो समय नाजुक बन्दै गएको छ । चालु आवको सुरूदेखि अर्थतन्त्रका सुचकहरू नकारात्मक छन् ।
बैंक तथा लघुबित्त प्रति सर्वसाधारणको आक्रोश, बैंकहरुको उच्च ब्याज दर र अर्थतन्त्रमा समस्या गहिरिदै गएको, आर्थिक बृदीदर घटेको, आयातको मात्रा बढेको तर निर्यात घटेको, राजश्व कम उठेको लगायतको विषयले अर्थतन्त्र नाजुक बन्दै गएको स्पष्ट नै देखिएको छ ।
सरकारले भने बाह्य क्षेत्रमा देखिएको दबाब कम गर्न आयात कडाइ बाहेकका प्रयास गरेको छैन् । आयातमा प्रतिबन्ध लगाउनु मात्र विनिमय संचिति जोगाउने उपाय होइन भन्ने कोरोनापछिको अर्थतन्त्रले देखाइसकेको छ ।
त्यस्तै बढ्दो व्यापार घाटा र घट्दो रेमिट्यान्स आप्रवाहले भुक्तानी सन्तुलनमा चुनौती थपेको छ । तर, वर्तमानमा देखिएको अर्थतन्त्रको समस्यालाई समाधान गर्न कुनै पनि नीति बनाइएको छैन । चालु आर्थिक वर्षको सुरूदेखि वित्तीय क्षेत्रले तरलता अभावको समस्या भोगिरहेको छ ।
कृषि र अर्थतन्त्र पुनरुत्थानको लागि छुट्याइएको पुनर्कर्जा र सहुलियतपूर्ण कर्जा घरजग्गा प्लटिङ र अनुत्पादक क्षेत्रमा गएको विभिन्न आँकडाहरूले देखाएको छ । हालको सरकारले भने अर्थतन्त्रलाई ट्र्याकमा ल्याउन केही पनि प्रयास गरेको देखिदैँन ।
अर्थतन्त्रमा दबाब परेको छ : अर्थमन्त्री डा. महत
अर्थमन्त्री डा.प्रकाशशरण महतले पनि अर्थतन्त्रमा दबाब परेको बताएका छन् । नेपाल उद्योग मंगलबार वाणिज्य महासंघको ५७ औं वार्षिक साधारण सभा एवं उद्योग वाणिज्य दिवसको अवसरमा सम्बोधन गर्दै अर्थमन्त्री डा. महतले अर्थतन्त्रमा दबाब परेको बताएका हुन् ।
एकदमै निराश हुनुपर्ने अवस्था नभएको उनले जिकिर गरे । ‘अर्थतन्त्रमा केही दबाब परेको छ। केही अप्ठ्याराहरू सृजना भएका छन्। सरकार र अर्थमन्त्रालय र म स्वयम अर्थमन्त्री यसलाई गम्भीरताका साथ लिएका छौं। तर निराश हुनुपर्ने कारण छैन।’, उनले भने ।
उनले सरकारको पूँजीगत खर्च प्रभावकारी बनाउने अल्पकालीन र दिर्घकालीन उपायहरू अपनाउनुपर्ने बताएका छन् । अन्तर्राष्ट्रिय परिस्थित सामान्य भयो भने नेपालमा आर्थिक वातावरण सृजना गरेर अर्थतन्त्रमा देखिएका समस्या हल गर्न सक्ने उनको भनाइ छ ।
प्रतिक्रिया