सन १९९९को डिसेम्बरमा संसार शहस्थ शताब्दीमा प्रवेश गर्दै थियो । म र मित्र मिनप्रसाद सुबेदी सामुदायिक वनको आर्थिक लेखाजोखा विश्लेषणका तथ्यांक संकलनका लागि पश्चिम नेपालका गाउँहरूको भ्रमणमा थियौँ । तथ्यांक संकलनको लागि पाल्पाको एक कार्यालयमा गएर तथ्यांक संकलन गरेर निस्कन लागेका मात्रै के थियौँ त्यहाँ स्वयम् सेवकका रूपमा काम गर्ने थोमस नाम गरेका जर्मनी नागरिकले हामी किन आएको ? कस्तो जानकारी चाहिएको भन्ने जिज्ञासा राखे । हामीले सामुदायिक वनको आर्थिक लेखाजोखा सम्वन्धि अध्ययनको सिलसिलामा जानाकारी लिन आएको भनेपछि उनि अलिकति सशंकित हुँदै तपाईंहरू साँझ म बस्ने व्हाईट लेक होटलमा आउनुहोस् त्यहाँ सँगै खाना खाउला, कुरा पनि गरौला र मसँग भएको जानाकारी तपाईलाई उपब्ध गराउला भनेर अनुरोध गरे । हामी पनि उनको आग्रहलाई स्विकार्दै बेलुका भेटने वाचा गरेर हिड्यौ ।
दिनभरी अरु काम सकेपछि बेलुका हामी ब्हाईट लेक होटेलमा पुग्दा थोमस हामीलाई कुरेर बसिरहेका रहेछन् । हामी पुगेपछि सामन्य शिष्टचारपछि कुराकानी शुरु भयो । उनले हाम्रो बारेमा सोधे, हामीले पनि उनको बारेमा सोधेपछि विषयवस्तुमा प्रवेश गरियो । त्यति बेलासम्म हाम्रो आथित्यको लागि उनले अर्डर गरेको खाना आइपुगेको थियो । खाना खाँदै हामीले कुरा शुरु गर्यौ । जब कुरा शुरु गर्यौ उनको अनुहारमा एकाएक बदलाव आयो । स्वरमा केही क्रोध थियो । बढो निराश हुँदै उनले कुरा शुरु गरे । विगत छ महिनादेखि त्यहाँ बस्दैगर्दा उनले निकै धेरै वेथितीहरू देख्न परेको रहेछ । कार्यालयमा समयको कुनै पालना नहुने, जसले जे गरे पनि किन यस्तो गरेको भनेर कसैले नसोध्ने, सेवाग्राहीहरूलाई एकदम हेपेर व्यवहार गरिेने, सेवाग्राहीहरूको लागि सामन्य बस्ने ठाउँ पनि नहुने । उनले यी कुराहरूसँगै अर्को भ्रष्टचारको गम्भीर विषय उठान गरे ।
थोमसले त्यस कार्यालयमा भ्रष्टचार भएकोबारे केही कुरा आफूले थाहा पाएको जानकारी गराए । एकजना वुटवलतिरका हाकीम सरकारी गाढी लिएर शुक्रबार घर जाँदा रहेछन् । आइतबार घरैबाट अफिस आउँदा एक वर्षभरीको डिजेलको रकम छ महिनामा नै सकिएपछि गाडी कसरी चलाउने भनेर अनौपचारिक छलफल भएछ । छलफलमा थोमसले हाकीमलाई त्यो त तपाईले नीजि काममा प्रयोग गरेकाले छ महिनामा सकिएको हो त्यो पैसा तपाईँले नै हाल्नु पर्दछ भन्ने आशयको कुरा राखेछन् । त्यसपछि हाकीसाहेव थोमससँग भड्केका रहेछन् । थोमसले घर आउँदा जाँदा सरकारी गाडी प्रयोग गर्नु गम्भीर अनियमितता भएकाले अनियमितता गर्ने हाकीमलाई सबैले बिहान बिहान नमस्कार गरेको देख्दा दुःखी भएका रहेछन् ।
सरकारी निकायहरू नीति, कार्यक्रम र कानुनको आधारमा नभइ स्वार्थ समुहको इच्छा र चाहना अनुसार चल्नपर्ने बाध्यता छ ।
यस घटनापछि थोमसमा नेपाल र नेपालीप्रति वितृष्णा जागेर आएको रहेछ । भेटमा थोमसले दुःखी हुँदै भनेको भनाइले आजसम्म र संभवत् भविष्यमा समेत मलाई सताइरहनेछ । अहिले सम्झिदा शब्दमा कति तागत हुँदोरहेछ भन्ने मैले महसुस गरेको छु । थोमसले निकै निराशाजन तरिकाले जर्मनीमा कुनै व्यक्तिले सरकारी वा सार्वजानीक सम्पत्तिको हिनामिना गरेको वा भ्रष्टचार गरेको आरोप मात्रै लाग्यो भने त्यही दिन श्रीमती वा श्रीमानले सम्बन्धविच्छेद गर्ने बताएका थिए । बुबाआमाको सम्वन्धविच्छेदको कारण थाहा पाएपछि छोराछोरी त्यो अनियमितता गर्ने बुबाआमासँग बोल्दैनन त्यसपछि उ त्यो घरमा बस्न सक्दैन र घर छोडेर जानुपर्ने पनि बताएका थिए । जर्मनीमा जब छिमेकीहरूले त्यो घटना थाहा पाउँछन् तब छिमेकीहरू पनि बोल्न छोड्छन् । जब पसलेहरूले थाहा पाउँछन् तब पसलेहरूले सामन बेच्न छोडिदिन्छन् । ३० दिनभित्र त्यो मान्छे मुलुकमै बस्न सक्दैन । त्यसकारण जर्मनीमा कसैले भ्रष्टचार वा कुनै पनि प्रकारको अख्तियारको दुरुपयोग वा सार्वजनिक सम्पत्तिको हिनामिना गर्ने सोच्नसम्म पनि नसोच्ने थोमसले बताएका थिए ।
थोमसको कुरा सुनेपछि मलाई एकदम हार महसुस भयो । हामी मध्ये धेरै नेपालीले जर्मनीहरूले जस्तै आचरण र व्यवहार गरेका छौँ तर पनि हामीले त्यस्तो समाज बनाउन सकेका छैनौ । सरकारले लगाएको कर र सबै दायित्व केही प्रश्न नगरी स्विकारेका छौँ तर हामी संसारभरी अस्थिर, भ्रष्ट देश, बेथीति र पछौटे समाज भएको मुलुकको नागरिकका रूपमा परिचित छौँ । सबै कर्तव्य पूरा गर्दागर्दै पनि अकारण नेपालीहरूको स्वाभिमान कति कमजोर छ भन्ने महसुस भयो । हाम्रा शासकहरूको व्यवहार र चालचलन देख्दा मनमा एकदम आक्रोश पलायो । तर विदेशीसँग बसिरहेको बेलामा उनलाई हार्दिक धन्यवाद र आगामी दिनमा उनको बसाइ र यात्रा सुखद् होस् भन्ने शुभकामना व्यक्त गर्दै बिदा भयौँ ।
यो देशको नागरिक भएर सोचौ त । पहिले त नागरिक भनेको के हो त्यो बुझन आवश्यक छ । नागरिक भनेको देशको कानुनले चिन्ने, देशको संविधान, ऐन कानुन निर्माणमा सहभागी हुन पाउने वैधानिक व्यक्ति हो । हाम्रो जस्तो व्यवस्थामा आज जो जहाँ र जुन पदमा भए पनि औपचारिक पदबाट बिदा लिएको दिनदेखि नागरिक हो । नागरिक भनेको जनता, रैति वा दासभन्दा धेरै माथि र फरक हो । यो राज्य शक्तिको श्रोत हो । त्यसकारण नागरिक स्वयम्ले र सरकारले नागरिकलाई नागरिकजस्तो व्यवहार गरेको छ की छैन भन्ने कुराले सिंगो समाज, प्रदेश तथा संघीय सरकारमाथि समेत प्रश्न उठँछ । जबसम्म सबै नागरिकहरूलाई नागरिक सरह विकास गरिदैन तबसम्म देश विकास हुन सक्दैन । परिभाषा र बोलिचालीमा नागरिक भनिए पनि हामी वास्वतमा नागरिक भएका छौँ की छैनौ भन्ने प्रश्न आज टडकारो रूपमा आएको छ । नागरिक जनताभन्दा शक्तिशाली र परिकृस्त हो । जनता भनेको समाजका साधरण सदस्य हुन् । जनतालाई पनि नीजि सम्पत्ति राख्ने, न्याय प्राप्ती गर्ने अधिकार हुन्छ तर नागरिकलाई जस्तो औपचारिक अधिकार हुँदैन । जनता बहुदलीय व्यवस्थामा पार्टी, सत्ता र एकदलीय व्यवस्थामा राजकीय सत्ताको इशाराभन्दा बाहिर चलखेल गर्न सक्दैनन् र यी सत्ताको विरोध गरेवापत दण्डका भागीदार हुन्छन् र अन्यायपुर्वक गरिने दण्ड उपर कतै सुनुवाइ हुँदैन । पञ्चायतमा नमिता सुमिता काण्डका पीडिहरूले न्याय नपाउनु, धेरै राजनीतिक कर्मीहरूको गैरन्यायिक हत्या हुनु यसका उदाहरण हुन् ।
दशकौँ निस्वार्थ भावनाले पार्टीको संगठन निर्माण गर्न लागेका कार्यकताहरूलाई निर्वाचनमा फलानालाई भोट हाल्नु अन्यथा पार्टीले निष्काशन गर्दछ भन्ने नेतृत्वले कार्यकर्ताहरूलाई कस्तो व्यवहार गरेको होला ? के कुनै पार्टीमा लाग्नु भनेको नागरिक अधिकार गुमाउनु हो ?
त्यस्तै जनताभन्दा तल रैतीहरूको दर्जा हुन्छ । रैतीहरू निश्चित भुभागमा शारिरीक श्रम गरेर जीविकोपार्जन गर्दछन् । श्रम गरेर उत्पादन गर्न उनीहरू स्वतन्त्र भए पनि श्रमको मुल्य तोक्ने र उपयोग गर्ने अधिकार उनीहरूमा हुदैन । आफ्नो ठाउँ छोडेर अन्यत्र हिडडुल गर्नेसम्मको स्वतन्त्रता हुँदैन । पेशा व्यवसाय रोजेर गर्न पाउदैनन् । त्यो भन्दा पनि तल्लो स्थान दासहरूको हुन्छ । दास भनेको कानुनी रूपमा नै अरु व्यक्तिको सम्पत्ति हो । दासहरू स्वतन्त्र हुँदैनन् र उनीहरूलाई आफनो इच्छा अनुसार बाँच्ने अधिकार पनि हुँदैन । मालिकहरूले किनबेच गर्न, श्रम गराउन, मनोरञ्जन गर्न वा मालिकलाई जे जसरी मन लाग्दछ त्यसरी नै उपयोग गर्न पाउछन् । दशकौ निस्वार्थ भावनाले पार्टीको संगठन निर्माण गर्न लागेका पार्टीका कार्यकताहरूलाइ निर्वाचनमा फलानालाई भोट हाल्नु अन्यथा पार्टीले निष्काशन गर्दछ भन्ने नेतृत्वले ती पार्टीका कार्यकर्ताहरूलाई कस्तो व्यवहार गरेको होला ? के कुनै पार्टीमा लाग्नु भनेको नागरिक अधिकार गुमाउनु हो ? सोचौ त ।
सामन्ती राज्य व्यवस्थामा नागरिकहरूको दर्जा रैती वा दासकै वरिपरि हुन्थ्यो भने सीमित प्रजातन्त्रमा नागरिक अधिकार भनिए पनि सत्ताधारीहरूले नागरिकहरूलाई गर्ने व्यवहार फरक रहने गरको छ । ८० काटेको पुस्ता स्वयम् यो देशमा भएको अन्याय अत्याचारको साक्षी र भुक्त भोगी हो । ५० काटेको पुस्ता पनि पञ्चायतविरुद्ध संघर्ष गरेर पनि नागरिक अधिकार स्थापित गर्न नसकेको असफल पुस्ता हो । यो पुस्ताले नागरिक अधिकारको स्थापनार्थ गर्न पर्ने त्याग बलिदान र संघर्ष, क्रान्ति सबै गर्यो तर सामन्ती राजाहरूको अधिकार पार्टीको राज्य सत्तामा लगेर बुझायो । यो पुस्ताको आत्मसमर्णवादी सोच र पद र प्राप्तीको अभिलाषा र सत्यप्रतिको कायरतापूर्ण दृष्टिले गर्दा हाम्रो सामाजिक संरचनामा बदलाव आउन सकेन भने सिंगो समाज र देश नै अन्याय, अत्याचार, भ्रष्टचार र अपमानको दलदलमा फसेको छ ।
नागरिक अधिकारको लागि भएका राजनीतिक आन्दोलन सफल भए तर नागरिक अधिकार बहाल भएको छैन । नयाँ सामन्तवादको उदय भएको छ र सिंगो पार्टी पक्ति नवसामन्तवादको इशारामा चल्न थालेको छ । गुण र दोषको आधारमा आलोचना गर्ने छुट न त पार्टीमा छ न त विश्लेषकर्ता वा टिप्पणीकर्ताहरूलाई छ । सरकार माथहतका कुनै पनि निकायहरू स्वतन्त्र छैनन् । व्यवसायिक, सक्षम र दक्ष व्यक्तिहरूको नेतृत्वमा छैनन । सरकारी निकायहरू नीति, कार्यक्रम र कानुनको आधारमा नभइ स्वार्थ समुहको इच्छा र चाहना अनुसार चल्नपर्ने बाध्यता छ ।
वृहत नागरिकको जीवनयापनका रुपमा रहेका उत्पादनका साधनहरू दलाल र विचौलियाका कब्जामा छन् । उदाहरणको लागि कृषि औजार कारखाना चलाउँछु भन्दै महावीर पुन पुस्तक बेच्दै हिड्न परेको छ भने उच्च राजनीतिक पहुँच भएका व्यक्तिहरूले सरकारी श्रोत र साधनको दुरुपयोग गरेर अरबौँ लुट्न विभिन्न नाममा राज्यवाट सुविधा लिने प्रचलन निरन्तर चलिरहेको छ । विकास बजेट ४० प्रतिशत पनि खर्च हुँदैन तर स्वदेशमै उत्पादनमुलक कारखाना चलाउने दायित्व बोकेको सरकार कारखाना चलाउछु भन्नेलाई सहयोग गर्दैन ।
नागरिक प्रतिनिधीको थलोको रूपमा रहेको संसद्का बहस र नीति निर्माण प्रकृया हेर्दा पार्टी नेतृत्वमा रहेका प्रतिनिधिहरूको बहसको स्तर, उठान गरेका विषय र संसद् अवरुद्ध गर्ने ऐजेण्डा हेर्दा के यो देश परिवर्तनको दिशामा गएको अनुमान गर्न सकिन्छ ? के हामी नागरिकहरू यति सानो कुराको पनि सही अनुमान गर्न सक्दैनौ ? प्रश्न नागरिकहरूलाई नै हो । यो त अहिलेसम्म भइरहेका कुराहरूको सानो झलक मात्रै हो । यी कुराहरूको जति व्याख्या गरे पनि परिस्थितिमा परिवर्तन आउदैन । त्यसकारण अब के गर्यौ भने परिस्थितिमा परिवर्तन आउछ र हाम्रो समाज र देश परिवर्तन हुन्छ ? यो महत्वपुर्ण कुरा हो ।
नेपालको संविधानले नागरिकलाई विभिन्न अधिकार दिएको छ, तर ती अधिकारको पूर्ण उपयोग र संरक्षण गर्न अझै धेरै प्रयास आवश्यक छ । संविधान नयाँ भए पनि शाशकहरूको उदासिनताका कारण ऐन कानुनहरू पञ्चायतकालीन छन् ।
सबैको ध्यान अब त्यसतर्फ जानुपर्दछ । शब्दले नै संसार निर्माण गर्दछ भन्ने सामाजिक संरचनावादको मुलमर्म अनुसार हामीहरूले शब्द बदल्न सक्यौ भने व्यवहार र समाजको संरचना बदल्न सक्दछौ । एक आधुनिक समाज कस्तो हुन्छ र नेपाली समाजलाई कसरी त्यस्तो बनाउन सक्दछौ ? कसरी नेपाली समाजका प्रत्येक सदस्यले सदाचार, सम्मान, अधिकार, शुशासन, सामाजिक न्यायजस्ता कुराहरूलाई जीवन प्रणाली बनाउन सक्दछन् त्यसतर्फ बहस गरौँ र जब बहस सार्थक हुन्छ, तब व्यवहार बदलिन्छ र समाज बदलिन्छ त्यसकारण तीब्रस्तरमा समाज बदल्न सार्थक बहस अनिवार्य छ ।
अहिले हिजो राजनीतिमा लागेका र सत्ता परिवर्तन गर्न लागेका केही व्यक्तिहरूले समाजको आमुल रूपान्तरणको लागि नागरिक पहिलो अभियान शुरु गरेका छन् । यस अभियानमा सहभागी विभिन्न राजनीतिक पार्टीका सदस्यहरूको यो अभियानले वर्तमान सामाजिक संरचनाको वदलावमा महत्वपूर्ण भुमिका खेल्न सक्ने बताउँछन् । नागरिक पहिला अभियानको अवधारणा नयाँ होइन । यो विभिन्न देशहरूमा विभिन्न नाम र स्वरूपमा देखा परेको छ । यस अभियानको जरा नागरिक समाजको सशक्तिकरण र नागरिक अधिकारको संरक्षणमा गहिरो रूपमा गाँसिएको छ ।
समाजको विभिन्न क्षेत्रको नेतृत्व गरिरहेका शिक्षक, राजनीतिक नेता तथा कार्यकर्ताहरू, समाजसेवीहरू, स्वयम् सेवक र सचेत वर्गले देशमा केही भएन भन्दै पुरानै शैलीलाई निरन्तरता दिनुको बदलामा नयाँ सोच विकास गरौँ र आफनो ठाउँबाट नागरिक पहिला अभियानबारे बहस गरौँ, छलफल गरौ र यस अभियानलाई घर-घर, जन-जनसम्म पुर्याउन योगदान गरौं ।
नागरिक अधिकार आन्दोलनहरू १९६० को दशकमा अमेरिका, युरोप, र अन्य देशहरूमा चलेका थिए । जसले नागरिक अधिकार, समानता, र न्यायका व्यापक आन्दोलन चलाए । ती आन्दोलनहरूले नागरिकको अधिकारलाई सशक्त बनाउन ठूलो योगदान पुर्याए । १९५० र १९६० को दशकमा अमेरिकामा भएको नागरिक अधिकार आन्दोलनले काला जातिको नागरिक अधिकार सुनिश्चित गर्न महत्वपूर्ण भूमिका खेलेको थियो । महात्मा गान्धीको नेतृत्वमा भारतको स्वतन्त्रता आन्दोलनले भारतीय नागरिकलाई उपनिवेशवादविरुद्ध एकजुट गर्न र सशक्त बनाउन महत्वपूर्ण भूमिका खेलेको थियो । नेल्सन मण्डेलाको नेतृत्वमा दक्षिण अफ्रिकामा भएको आन्दोलनले रंगभेदको अन्त्य गर्न महत्वपूर्ण भूमिका खेलेको थियो ।
नेपालमा नागरिक पहिला अभियान धेरै कारणले आवश्यक छ । नेपालको संविधानले नागरिकलाई विभिन्न अधिकार दिएको छ, तर ती अधिकारको पूर्ण उपयोग र संरक्षण गर्न अझै धेरै प्रयास आवश्यक छ । संविधान नयाँ भए पनि शाशकहरूको उदासिनताका कारण ऐन कानुनहरू पञ्चायतकालीन छन् । दण्डहिनताको कारण सामाजिक संरचनामा फेरवदल आएको छैन । अधिकाँश मानिसहरू किन सामाजिक संरचनामा परिवर्तन आएको छैन र समाज पछौटेपनको शिकार भइरहेको छ भन्ने जानकारी छैन । अभियानले नागरिकको सशक्तिकरण गर्दै उनीहरूको सक्रिय सहभागितालाई प्रोत्साहन गर्नसक्छ ।
समाजमा सकारात्मक परिवर्तन ल्याउने आधार तयार गर्दछ । नेपालमा सार्वजनिक सेवाहरू गैर-उत्तरदायी र कम प्रभावकारी भएका छन् । ‘नागरिक पहिला’ अभियानले सेवाको गुणस्तर सुधार गर्न, सरकारलाई उत्तरदायी बनाउन, र जनतासँग नजिक रहन उत्प्रेरित गर्दछ । सुशासन र पारदर्शिताको अभावले गर्दा भ्रष्टाचार र अन्य सामाजिक विकृति बढ्दै गएको छ । यो अभियानले सुशासनबारे सरकारलाई दबाब र नागरिकलाई उत्प्रेरित गर्दछ । लैंगिक, जातीय, धार्मिक र आर्थिक असमानताहरूलाई समानतामा बदल्ने आधार तयार गर्दछ ।
समग्रमा, ‘नागरिक पहिला’ अभियानले नेपाली समाजमा नागरिकको भूमिका र स्थानलाई पुनःस्थापना गर्न महत्वपूर्ण भूमिका खेल्न सक्छ । यसले नागरिकलाई सशक्त बनाउँदै समतामूलक, न्यायपूर्ण र सुशासनयुक्त समाजको निर्माण गर्न मद्दत पुर्याउँछ । अभियान नेपालको लोकतान्त्रिक विकासमा एक महत्वपूर्ण कोसेढुंगा सावित हुनसक्छ । समाजको विभिन्न क्षेत्रको नेतृत्व गरिरहेका शिक्षक, राजनीतिक नेता तथा कार्यकर्ताहरू, समाजसेवीहरू, स्वयम् सेवक र सचेत वर्गले देशमा केही भएन भन्दै पुरानै शैलीलाई निरन्तरता दिनुको बदलामा नयाँ सोच विकास गरौँ र आफनो ठाउँबाट नागरिक पहिला अभियानबारे बहस गरौँ, छलफल गरौ र यस अभियानलाई घर–घर, जन–जनसम्म पुर्याउन योगदान गरौं । हामी सबैको सानो योगदानले हाम्रो समाजलाई रुपान्तरण गर्नेछ र हाम्रो समाजमा पनि सदाचार पहिला भन्ने मान्यता स्थापित हुन्छ र आउने पुस्ताले हामीप्रति गौरव गर्ने आधार तयार हुनेछ ।
(डा. लामिछाने इस्टर्न रिसर्च इन्स्टिच्युट अफ पोजिटिभ साइन्सका प्रमुख कार्यकारी हुन्)
प्रतिक्रिया